काठमाडौं। नेपाली कांग्रेसले अहिलेसम्म संसदभित्र विपक्षी दलकै भूमिकामा रहेको निष्कर्ष निकालेको छ। बिहीबार कांग्रेसको पदाधिकारी बैठक संसद पुनर्स्थापनापछिको समीकरणका विषयमा सबै कुरा नेकपासँगै निर्भर भएको र कांग्रेसले भूमिका निभाउने बेला नभएको ठहर गरेको हो।
कांग्रेसले सर्वोच्च अदालतले संसद्को पुनर्स्थापना गरेपछिको अवस्थामा पार्टीको धारणा तयार गर्न बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएको थियो। उक्त बैठकले नेकपा नफुटेसम्म कांग्रेसले नेकपाको कुन समूहलाई साथ दिने, सहकार्य गर्ने भन्ने निर्क्योल गर्ने निर्णय गरेको हो।
‘अहिले पार्टी एउटै छ। अध्यक्ष केपी ओली नै हुनुहुन्छ। उहाँहरूले निर्क्योल गर्ने कुरा भो। त्यो परिस्थिति नआएसम्म हामी यो पक्ष त्यो पक्षमा लाग्ने कुरा अपरिपक्क हुन्छ। कांग्रेस त्यसो गर्दैन,’ बैठकपछि कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने।
महतले पार्टी र संसदीय दल अलग भएपछि मात्रै कांग्रेसको भूमिका के भन्ने प्रस्ट हुने बताए। ‘अब संसद्को बैठक बसेपछि सरकार यही हुन्छ या हुँदैन भन्ने कुरा टुंगो लाग्छ। यो कम्युनिस्ट पार्टीमा निर्भर छ। यो अवस्थामा हामी यो गर्छौं भनेर कांग्रेसले भन्छ,’ उनले भने, ‘अहिले सरकारको नेतृत्वको लागि कसैले भने पनि अर्थ छैन।’
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चले फैसला सुनाएपछि नेकपाको दाहाल-नेपाल समूहले सत्ता सहकार्यको लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। देउवाले पार्टीमा छलफल गरेर मात्रै सहकार्यको बारे जानकारी दिने बताएका थिए।