वेबसाइटमा नखुलेर आईपीओ नतिजा हेर्न नपाउँदा लगानीकर्ता आक्रोशित

  • 88
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ हेर्न नपाउँदा लगानीकर्ता हैरानीमा परेका छन्। नतिजा हेर्न मिल्ने तीन वेबसाइटमध्ये दुई साइट खुल्दै नखुलेपछि सर्वसाधारणले नतिजा हेर्न नपाएका हुन्। तीन ठाउँबाट मात्रै प्राथमिक शेयरको नतिजा हेर्ने व्यवस्था गरेपछि लगानीकर्ताहरूले यस्तो समस्या भोग्नुपरेको हो।

कम्पनीमा आवेदन दिने १५ लाखभन्दा बढी लगानीकर्ताले एकै पटक साइट भिजिट गरेपछि ती साइटमा ट्राफिक लोड परेको छ। जसको कारण ती वेबसाइटले काम गरेका छैनन्। सिडिएससीले लगानीकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै ३ वटा वेबसाइटबाट मात्र आईपीओ हेर्न मिल्ने व्यवस्था गरेको छ।
यसअघि आईपीओको नतिजा विभिन्न संचारमाध्यमबाट सार्वजनिक हुने गरेको थियो । तर, धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले संचारमाध्यममा नतिजा सार्वजनिक गर्न रोक लगाएपछि नतिजा हेर्न समस्या आएको छ । मेरो शेयरको वेवसाइट र एप्स, निष्कशनकर्ता कम्पनी र शेयर निष्काशन तथा बिक्री प्रबन्धकको वेवसाइटबाट मात्र हेर्न मिल्छ ।

उच्च ट्राफिकका कारण यी तीन वटै साइट चल्न सकेका छैनन् । क्षमता सुधार नगरी सञ्चारमाध्यममा नतिजा सार्वजनिक गर्न रोक लगाएको भन्दै लगानीकर्ता आक्रोशित बनेका छन् ।