संसदलाई निर्वाचनमा जान बाध्य पार्छौं : लेखराज भट्ट

lekhraj_bhatta
  • 2K
    Shares
लोकपाटी न्यूज

मकवानपुर। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले एकताको सन्देश पठाइरहेको दाबी गरेका छन्। शुक्रवार हेटौँडामा आयोजित कार्यक्रममा मन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाडेको खण्डमा एकता कायम रहने सन्देश आफूलाई पठाएको दाबी गरेका छन्।

‘प्रधानमन्त्रीले कुनै पद छाड्नुहुन्न। हामी निर्वाचनमा जाने अवस्था सिर्जना गर्छौं,’ मन्त्री भट्टले भने। अहिलेको मांसाहारी आन्दोलन गर्ने समय नभएको टिप्पणी गर्दै उनले शाकाहारी बनेर देश विकासको दिशामा अगाडि बढ्न जरुरी रहेको औँल्याए। मन्त्री भट्टले सर्वोच्च अदालतको फैसला मान्ने र तोकिएको समयमा सदन सरकारले आव्हान गर्ने बताए।

उनले अब सांसद र राजनीतिक दलहरू लोभमा विभाजन हुन सक्ने बताए। मन्त्री भट्टले भने, ‘सर्वोच्चले हाम्रो पक्षमा फैसला गर्‍यो भनेर लड्डु बाँड्नु पर्दैन। हामी पुस ४ को अवस्थामा पुगेका मात्र हौं। अब सदनभित्रै हामी लड्ने छौं।’ उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेर देशमा राजनीतिक अस्थिरता पैदा गरिदिएको पनि दाबी गरे।

उनले आफ्नो पार्टीभित्रै षड्यन्त्र र प्रतिपक्षी जन्मिएपछि बाध्य भएर जनतामा जाने निर्णय सरकारले गरेको गरेको दाबी गरे। उनले भने, ‘पार्टीभित्र ध्वंस गर्ने र आगो लगाउने काम भयो। जसको कारणले गर्दा स्थिर सरकार हुने अवस्था रहेन। सरकारको काम अस्तव्यस्त बन्यो। त्यस कारण बाध्य भएर प्रतिनिधिसभा भंग गरिएको हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्