ओलीलाई प्रधानमन्त्री स्विकार्न प्रचण्ड-नेपाल समूह बाहेक अरू दल तयार छन् : शेरधन राई

Sherdhan Rai-3
  • 205
    Shares
लोकपाटी न्यूज

ओखलढुंगा। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन्। रूम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गरेका हुन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरे पनि नेकपाको एउटा समूहबाहेक अन्य दलको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई निरन्तरता दिने उनले बताए। प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसलाले सरकारविरोधी समूहलाई सहयोग पुगेको उनको भनाइ छ।

हुमतप्राप्त प्रधानमन्त्रीले अराजकतालाई परास्त गर्न संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरे पनि अदालतले त्यो निर्णय उल्टाएर अराजकतालाई प्रश्रय दिएको उनको भनाइ थियो।

‘हामी अदालतको फैसला मान्छौं। तर यसले मुलुकलाई निकास दिँदैन। अझ अराजक तत्वलाई बल पुग्छ’, उनले भने, ‘मुलुकलाई फेरि पनि ओलीले नै नेतृत्व गर्नुहुनेछ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा उनकै नेतृत्वमा हामी पूरा गर्ने अठोटका साथ अघि बढेका छौं।’

मुख्यमन्त्री राईले नेपालमा संघीय सांसदको खरीदबिक्री शुरु भएको र त्यसको असर प्रदेशसभामा पनि परेको बताउँदै बहुमत प्राप्त दल नहुँदा सरकार गठन र सञ्चालनमा अनेकौँ झमेला हुने बताए। मुख्यमन्त्री राईले प्रदेश नं. १ मा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव असफल बनाइने पनि बताए।

कार्यक्रममा प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले संघीयताले नागरिकलाई घरदैलामा सेवाको पहुँच पुर्‍याइएको बताए। दुर्गम पहाडी जिल्लामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय स्थापना गरेर सबै जिल्लाका नागरिकलाई सहज सुविधाको व्यवस्था गरिएको उनको भनाइ थियो। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्