पुनलाई नि:शर्त रिहा गर्न विप्लव नेकपाको माग

Netra Bikram chand 'Biplap' general secretary of CPN-UML Maoist
  • 4K
    Shares
लोकपाटी न्यूज

म्याग्दी। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन ‘फिल्टर’लाई नि:शर्त रिहा गर्न माग गरेको छ। नेकपाका धौलागिरी ब्युरो इन्चार्ज राजनले एक वक्तव्य जारेर बिहीबार म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट पक्राउ परेका पुनलाई नि:शर्त रिहा गर्न माग गरेको हुन्।

पुनलाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्‍बन्धित पक्ष नै हुने चेतावनी राजनले दिएका छन्। वक्तव्यमा राजनले पार्टीका कार्यकर्ता फिल्टरलाई म्याग्दीको मालिका गाउँपालिकाको रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै घोर आपत्ति जनाएका हुन्।

‘२०७७ फागुन १३ गते हाम्रो पार्टीका मुस्ताङ इन्चार्ज कमरेड फिल्टरलाई राजनीतिक अभियानको सिलसिलामा म्याग्दीको मालिका गाउँपालिको रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर आपत्ति एवम् खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘कम्युनिस्ट आन्दोलनमा समर्पित एक इमान्दार कमरेड फिल्टरको बिना सर्त रिहाइको माग गर्दछौं। अन्यथा त्यसबाट उत्पन्न परिस्थितिको जवाफदेही सम्बन्धित पक्ष हुनुपर्ने जानकारी गराउँदछौँ।’

पक्राउ गरेपछि अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको थियो। प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए। ‘दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो,’ उनले भने, ‘उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि हुनुहुन्थ्यो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्