काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न त्यसतर्फ लागेका छन्। उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन्। लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझमात्र सन्दीपले पीएसएल खेल्ने पक्का भएको हो। लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो।
जिम्बावे विरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पीएसएलको बीचमा नै प्रतियोगिता छोड्नु परेको हो। उनको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो। लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ लागेका हुन्।
यसअघि लामिछाने पीएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा रहेका थिए। लाहोर कलन्दर्सले जारी प्रतियोगितामा तीन खेल खेलेकोमा दुईमा जीत तथा एकमा हार ब्यहोरेको छ। लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ।