बाग्लुङको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत बल्यो

pic
  • 141
    Shares
लोकपाटी न्यूज

बम्मन थापा\ बागलुङ, १५ फागुन। बागलुङको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन्। बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानीयबासीमा खुसीयाली छाएको छ। केन्द्रीय विद्युत प्रसारणको उद्घाटन कार्यक्रममा वडा भित्रका ११ घरधुरी विपन्न परिवारलाई निशुल्क विद्युत मीटर वितरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए। विपन्न घरधुरीलाई केन्द्रीय विद्युत सेवाबाट बञ्चित हुन नदिन प्राधिकरणको अभियान अन्तर्गत उक्त कार्य गरिएको केन्द्र प्रमुख गोशलीले बताए। सल्यानमा केन्द्रीय विद्युतीकरण गर्न प्राधिकरणले ४५ लाख रुपैयाँ खर्च गरेको उनले उल्लेख गरे। केन्द्रीय विद्युत सेवा सञ्चालनमा आएपछि लामो समयदेखि स्थानीय लघु जलविद्युतको भरमा रहेका सल्यानबासी जनताहरू केन्द्रीय विद्युतको पहुँचमा जोडिएका छन्।

केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै वडा भित्रका १ सय २५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। सल्यानको राँजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले ३ वर्ष पहिले देखिनै बरेङ गाउँपालिका वडा नं ५ सुखौरमा रहेको ट्रान्सफर्मरमार्फत् केन्द्रीय विद्युत उपभोग गर्दै आइरहेका छन्। यो सँगै सल्यानमा पूर्ण रूपमा केन्द्रीय विद्युतीकरण भएको वडा सदस्य जन बहादुर खत्रीले जानकारी दिए। विपन्न परिवारले निशुल्क मीटर बक्स प्राप्त गरेपछि खुसी भएका छन्। आर्थिक अभावका कारण आफूहरु विद्युत सेवाबाट बञ्चित हुनु परेको र अब भने जीवनमा विद्युतले उज्यालो प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। घरमा केन्द्रीय विद्युत बलेपछि उज्यालो हुनुका साथै मोवाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढन लेख्न सहज हुने स्थानीय सञ्जु विश्वकर्माले बताइन्।

सल्यानमा केन्द्रीय विद्युत नहुँदा साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको र केन्द्रिय विद्युतको सेवा सञ्चालनमा आएसँगै जनताको दैनिकीमा सहजता हुने बरेङ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लील बहादुर खत्रीले बताए। लामो समयदेखि केन्द्रीय विद्युत बाल्न आफूहरु प्रयासरत रहेकोमा र विद्युत बाल्न सफल भएको उनले उल्लेख गरे। लघु जलविद्युत सञ्चालन गर्दा थुप्रै चुनौतीको सामना गर्नु परेको र अब उक्त समस्या टरेको वडा अध्यक्ष खत्रीको भनाई छ।

सो अवसरमा वडा अध्यक्ष खत्रीले नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रलाई आवश्यकता अनुरूप वडामा थ्री फेज लाइन विस्तार तथा व्यवस्थापन सम्बन्धी माग पत्र प्रदान गरेका छन्। त्यस्तै विद्युत प्राधिकरणले बरेङ गाउँपालिका वडा नं ५ सुखौराका ५ विपन्न घर परिवारलाई पनि निशुल्क विद्युत मीटर वितरण गरेको वडा अध्यक्ष अमर बहादुर शेरपुजाले जानकारी दिए। कार्यक्रममा सल्यान सुखौरा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद शर्माले मन्तव्य राखेका थिए। सो अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रमुख, प्राविधिकहरु सँगै १५ वर्ष माइक्रो हाइड्रो लघु जलविद्युत आयोजनामा प्राविधिकको रूपमा सेवा प्रदान गरे बापत नगद सहित सम्मान प्रदान गरिएको थियो। कार्यक्रम ग्रामीण विद्युतीकरण उपभोक्ता समिति सल्यानका अध्यक्ष सुवास क्षेत्रीको अध्यक्षता, ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका सचिव हरिकृष्ण गौतमको स्वागत मन्तव्य र शिक्षक राम प्रसाद चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्