८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

  • 7
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले ८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले फागुन १७ गते सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

केन्द्रीय बैंकले यसअघि जारी गरेर मिति समाप्त भएको ट्रेजरी बिलहरुको नवीकरण गर्न लागेको हो। बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँको र ९१ दिन अवधिको ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

बोलकबोलमार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणालीमार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। फागुन १८ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्