भारत र सिंगापुरबाट ३०/३० हजार टन मल भित्रियो

  • 17
    Shares
लोकपाटी न्यूज

पर्सा। कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरबाट ३०/३० हजार टन युरिया र डीएपी मल भित्र्याएको छ। वीरगन्ज, भैरहवा र विराटनगर नाकाबाट मल भित्रिइरहेको कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसीले जानकारी दिए । हाल मलको अन्तिम लट भित्रिने क्रममा छ।

स्विस सिंगापुर कम्पनीले ३० हजार टन युरिया र भारतको देश ट्रेडिङ कम्पनीले ३० हजार टन डीएपी मल तीन वटा नाकाबाट नेपाल ल्याएको हो। ‘वीरगन्जबाट १२ हजार ५ सय, भैरहवाबाट १०/१० हजार र विराटनगर नाकाबाट ७ हजार ५ सय टनका दरले युरिया र डीएपी भित्रिँदै छ,’ उनले भने, ‘वीरगन्जको कोटाको मल सिर्सिया सुक्खा बन्दरगाहबाट क्रमशः भित्रिँदै छ। भैरहवाको सुनौली र विराटनगरको जोगबनीमा रेलबाट आइरहेको छ।’ वीरगन्ज नाकाबाट १ हजार ५ सय टन डीएपी मात्र भित्रिन बाँकी रहेको र अन्य नाकाबाट दुवै मल करिब भित्रिइसकेको उनले जानकारी दिए।

दुई साताअघि पनि कम्पनीको ३० हजार टन युरिया नेपाल भित्रिएर त्यसको अधिकांश परिमाण माग भएका जिल्लामा परिचालनसमेत भइसकेको केसीले बताए। त्यही लटले अहिले किसानले गहुँ खेतीमा प्रयोग गर्न सहज भएको उनको दाबी छ। अहिले भित्रिएको मल पनि माग भएका जिल्लामा परिचालन गर्न सकिने उनले बताए। ‘गहुँ बालीकै लागि माग आए सम्बन्धित जिल्लामा पठाइनेछ,’ उनले भने, ‘अहिले माग नआए आउँदो धान सिजनका लागि दुवै मल मौज्दात राखिनेछ।’ कम्पनीको वीरगन्ज कार्यालयले प्रदेश १, २ र वाग्मती प्रदेशसहितका डेढ दर्जनभन्दा बढी जिल्लामा मल वितरण गर्दै आएको छ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्