काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी क्रान्तिबाट मात्रै उत्पीडित समुदायका अधिकार स्थापित गर्न सकिने बताएका छन्। काठमाडौंमा आयोजित समाजवादी दलित मुक्ति महासंघको भेलामा यादवले नेपालका दलित समुदायलाई शिक्षा र रोजगारीको ग्यारेन्टी गर्ने गरी समाजवादी क्रान्ति अघि बढेको समेत बताए।
‘मान्छेको कुनै जात हुँदैन। तर, मनुस्मृतिमा आधारित भएर भारतखण्डमा खडा गरिएको जाति प्रथा यहाँ भित्र्याएर शोषण गर्ने षड्यन्त्र भयो,’ उनले भने, ‘यसको अन्त्यका लागि दलित समुदायले हरेक आन्दोलन र परिवर्तनका लागि योगदान पुर्याएको छ, तर समस्या अझै उस्तै छ। यसको निराकरण समाजवादी क्रान्तिबाट मात्रै सम्भव छ।’
संविधानले दलितका केही अधिकारहरू सुनिश्चित गरे पनि कार्यान्वयन गर्ने शासकको सोचका कारण दलित मुक्ति हुन नसकेको यादवको भनाई छ। उनले नेपाली दलित समुदायको सशक्तीकरणका लागि समाजवादी क्रान्ति अघि बढिसकेको दाबी गरे। यादवले भने, ‘यो समुदायले इतिहासमा धेरै पटक बलिदानी गर्यो, तर दलितले मुक्ति पाउन सकेनन्, अब हुने समाजवादी क्रान्तिमा भएको योगदानलाई हामी खेर जान दिदैनौं।’