आफूलाई हटाएर देखाउन प्रचण्ड-माधव समूहलाई प्रधानमन्त्रीको चुनौती

KP_Oli_PM
  • 42
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट अविस्वासको प्रस्ताव पास गरेर आफूलाई हटाएर देखाउन प्रचण्ड-माधव समूहलाई चुनौती दिएका छन् ।झापामा आइतबार आयोजित शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिला पनि अविश्वासको प्रस्तावको सामना गरेको उल्लेख गर्दै अब पनि प्रस्ताव ल्याएर देखाउन चुनौती दिएका हुन्।

‘तपाईंहरुले संसद फिर्ता गरेर ल्याउनुभएको छ भने, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् ।’ उनले चुनौती दिए। पहिले पनि हटाउँदा जनताले आफूलाई जिताएर पठाएको उल्लेख गर्दै उनले भने, ‘अविश्वासको प्रस्ताव राख्नुहोस् पास गर्नुहोस्,’ उनले भने, ‘पहिले पनि अविश्वासको प्रस्ताव राखेको हो । म जनताबाट फर्केर आएको हुँ, फेरि पनि हटाएर देखाउनुहोस् । फेरि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाई ल्याइन्छ ।’

‘त्यसैले चिन्ता गर्नुपर्ने अहिलेको अवस्था होइन’ उनले भने, ‘संसद पुनः स्थापना त भयो । उनले लोकतन्त्रलाई तलमाथि हुन नदिने पनि बताए । ‘हामीले बलिदानीपूर्ण संघर्ष गरेर ल्याएको लोकतन्त्र यसलाई तलमाथि हुन दिइँदैन । हाम्रो संविधान समयअनुसार परिमार्जन हुन सक्छ । तर संविधानको लोकतान्त्रिक भावना र मर्मलाई तलमाथि पर्न दिइँदैन,’ उनले भने ।

निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाबाट अनेक कष्ट र संघर्ष गरेर देशलाई यहाँसम्म ल्याई पुर्‍याएको उनले बताए । ‘अहिले पनि हामी सही बाटोमा छौँ, देश बनाउने संकल्पमा छौँ’ उनले भने, ‘त्यसैले झुसे बारुलाहरुले फूर्ती नलाए हुन्छ ।’ आफूलाई नेपाली जनताको साथ रहेको प्रधानमन्त्री ओलीको दावी छ । ‘जबसम्म नेपाली जनताको हात आफ्नो टाउकोमा हुन्छ तबसम्म कसैले केही गर्न सक्दैन,’ उनले भने ।

प्रतिनिधिसभा पुनःस्थापनापछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चितवनबाट हवाई जहाजमार्फत काठमाडौं आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलबाट सिँधै बुढानिलकण्ठ पुगेर उनीहरुले नयाँ सरकारको प्रधानमन्त्री भइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई निवेदन चढाएको दावी गरे ।

‘प्रतिनिधिसभा पुनः स्थापनापछि प्रचण्ड र माधव नेपाल चितवनबाट हवाई जहाज चढेर काठमाडौं आए छन् ।’ उनले भने, ‘उनीहरुको घर त एयरपोर्टबाट दक्षिणतिर छ । तर उनीहरु लागे उत्तरतिर । कहाँ जाने सा’ब भनेर सेक्युरिटीले सोध्यो, बुढानिलकण्ठ । बुढानिलकण्ठ भनेपछि सुतिराखेका बुढानिलकण्ठको पाउँमा पूजा गर्न जान्छन् कि क्या हो भन्ठाने उनीहरुले । सुतिराखेको होइन, उठिराखेको बुढानिलकण्ठतिर पो जान लाग्या रहेछन् ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास नगरेको र जनता समाजवादीका नेताले कुन पार्टी हो भनेर प्रश्न गरेपछि प्रचण्ड(माधव समूहका नेता झस्किएको ओलीले टिप्पणी गरे । उनले माधव-प्रचण्ड समूहले अहिले राजीनामा गरिदिनुस् न भनेर आफूसामू हात थाप्न थालेको सुनाए । देउवालाई प्रधानमन्त्री भइदिन आग्रह गर्दै प्रचण्ड-माधवले निवेदन हालेको ओलीले बताए। ‘गएर निवेदन हाले । प्रभु संसद पुनःस्थापना भयो । यो केपी ओलीलाई हटाउन प्रभुले प्रधानमन्त्री स्वीकार गर्दिनुपर्‍यो।’ उनले भने, ‘विभिन्न नन्दीभ्रिङ्गी मिलेर सरकार बनाऊ, नत्र ओलीले यो देशको विकास गर्छ । देशको विकास रोक्नका लागि केपी ओलीलाई हटाउनै पर्‍यो हजुर।’

तर, प्रचण्ड-माधवको बिन्तीलाई देउवाले स्वीकार नगरेको उनको भनाइ छ। ‘यसो विचार गरे होलान् । यी मान्छे त भरपर्दा छैनन्।’ उनले भने, ‘पख्नुहोस् म साथीहरुसँग सल्लाह गर्छु। अहिले तपाईंहरु जानुहोस्। अध्याँरो मुख लगाएर बिचराहरु फर्किए।’

प्रधानमन्त्री ओलीले प्रचण्ड-माधवले गठबन्धन सरकारका लागि जनता समाजवादी पार्टी (जसपा)लाई पनि आग्रह गरेको प्रसंग निकाले। ‘अर्को ठाउँमा गएछन्। हामी मिलेर जाऊँ। मिलेर काम गरौँ भनेछन्,’ उनले भने, ‘त्यसपछि उनीहरुले सोधेछन्, तपाईंहरु कुन पार्टीबाट आउनुभयो, पार्टीको नाम के हो ? झस्याङ्ग भए साथीहरु, कुन पार्टी भन्ने कुन पार्टी !’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्