नेकपाको सचिवालय बैठक सकियो, के भयो निर्णय ?

Prachanda_Nepal_Nekapa
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले तत्कालै स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो।

सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए। तर, दुवै बैठकको मिति भने तोकिएको छैन।

त्यस्तै बैठकले निर्वाचन आयोगलाई पार्टीको आधिकारिकता दाबीमा चाँडो निर्णय दिन आग्रह गर्ने निर्णय भएको छ। बैठकमा पार्टीको आधिकारिकताको विवाद छिटो टुंगो लगाउन निर्वाचन आयोगसँग आग्रह गर्ने विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

‘निर्वाचन आयोगलाई पार्टीको आधिकारिकता सम्बन्धी हाम्रो जो दाबी छ, त्यसमा छिटोभन्दा छिटो निर्णय गर्न अनुरोध गर्ने निर्णय भएको छ,’ उनले भने। बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी उल्झन खडा भएको भन्दै छिनोफानो गरिदिन आग्रह गर्ने निर्णय गरेको हो।

श्रेष्ठले मुख्य सचेतक परिवर्तन गरिएको हल्ला गरिएपनि त्यसको कुनै अर्थ र औचित्य नभएको बताए। बैठकमा पुष्पकमल दाहाल, झलनाथ खनाल, रामनारायण विडारी, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुनलगायत १०/१५ जनाको उपस्थिति रहेको थियो।

फागुन ११ मा प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलोपटक उक्त समूहको सचिवालय बैठक बसेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्