काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद बैठक आह्वान गरेकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। विघटनविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेका थिए।
सर्वोच्चले ती निवेदनमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक ठहर्याउँदै प्रतिनिधिसभा पुन:स्थापना गरेको थियो। सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो।
सोहीबमोजिम मन्त्रिपरिषदले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।