कमरेडहरूले प्रतिवद्धता बिर्सेकै हो ?

Communist Flag
  • 27
    Shares
लोकपाटी न्यूज

-सरोजदिलु विश्वकर्मा

प्रधानमन्त्री केपी ओलीले संसद विगठन गरेपछि मात्र आन्दोलनमा जनता चाहियो, नेताहरुले बल्ल कार्यकर्ता खोजे। जनतालाई विश्वास दिलाउन र कार्यकर्ता सडकमा उतार्न साह्रै हम्मेहम्मे पर्यो। बलेकै आगो ताप्ने पंक्तिहरु क्रमशः केपी ओलीकै पक्षमा लर्किन थाले। अघिल्लो दिनसम्म केपी ओलीलाई पटक्कै नरुचाउने कार्यकर्ताहरु, प्रदेशसभा सदस्यदेखि वडा सदस्यहरुसम्म अब केपीकै पछि लाग्नु आफ्नो भलो हुने ठानी प्रचण्ड-माधवको साथ छोड्न थाले। नारायणहिटी अगाडि, बुटवल, विराटनगरका आमसभा हेर्दा अब केपी ओलीकै पल्ला भारी होला र यताका आन्दोलनकारीहरु थाकेर थच्किने अवस्थामा पुग्ने हो की भन्ने भय थियो ।

Sarojdelu

हामीले टोल, छरछिमेक त के प्रतिगमनविरुद्ध लागौं भनेर आफ्ना परिवारलाई नै विश्वास दिलाउन सकेनौं। हो पनि, कार्यकर्ता भएको नाताले आजसम्म हामीले तिनलाई के दियौं ? तिनलाई दिनका लागि नेताहरुले हामीले के दिएका थिए र आफ्नै परिवारले विश्वास मान्ने ? विरोधसभामा जाऔंभन्दा जनताहरुले सिधै भने- ‘चोर नेताहरुको कोही किन पछि लाग्नु ?’ सहकर्मी कार्यकर्ताहरु नैं भन्दैथिए- ‘के जानु हौं, जुन जोगी पनि कान चिरेकै हुन्।’ हामीलाई ओली समूह वेइमान र माधव-प्रचण्डहरु इमान्दार भनेर विश्वास दिलाउन साह्रो भइरहेको थियो। यसका बावजुद देशभरीबाट पुष-माघको चिसोमा भोको पेट्, नाङ्खो खुट्टा लिएर आआफ्ना काम माया मारी आन्दोलनमा जम्मा भए। राजनीतिमा दुईचार कुरा जानेका हामी कार्यकर्ताले एकआर्कामा समीक्षा पनि गर्यौं- केपीभन्दा यिनीहरु कहाँ गतिला हुन् र ? तर लोकतन्त्र जोगाउन र ओलीको निरंकुशतालाई परास्त गर्न यतिबेला जुनसुकै मुल्य चुकाउन तयार हुनुपर्छ’ भन्दै निरन्तर विरोधमा लाग्यौं। र, ती जनमासहरुका बीचमा उभिएर हाम्रा नेताहरुले २ वटा महत्वपूर्ण कुरा प्रतिवद्धता जनाएका छन्ः

१) आफूहरुले विगतमा गरेका गल्तीहरुलाई सच्याउने र

२) संविधानमाथि बलात्कार गर्ने राष्ट्रिय अपराधीहरुलाई कठघरामा उभ्याएर नङ्ग्याएर लोकतन्त्रको रक्षा गर्ने ।

डीलमुनि बल्ड्यांग खानेगरी केपी ओलीले लात हानेको महशुस गर्दै मात्र हाम्रा नेताहरुले गल्ती सच्चाउने र कार्यकर्ताको सम्मान गर्ने प्रतिवद्धता जनाएका होइनन्। हिजोको कमीकमजोरीले सिर्जेको यो अवस्था र त्यसले सिंगो कम्युनिष्ट पार्टीमाथिको जनविश्वास खस्कदै गएकाले समेत नेताहरुबाट सो प्रतिवद्धता आएको हुनुपर्दछ। तर सर्वोच्चको फैसलासंगै हाम्रा नेताहरुमै दम्भ बढेको जनताले महसुश गर्न थालेका छन् । नेताहरु कार्यकर्ताबाट टाढा हुन थालेका छन्।

नागरिक आवाजहरुलाई सुन्न छाडेका छन्। आन्दोलनमा हजुर हजुर भनेर कार्यकर्ता खोज्ने नेताहरुलाई अहिले कार्यकर्ताले खोज्दा पनि नभेटिने अवस्था आइसकेको छ। धेरै नेताहरुमा सामन्तवादी चरित्र एकाएक देखापर्न थालेको छ। एकाएक चितवनको भेलालाई छोडेर फर्किनु, विजय जुलुसलाई मुख्य नेताहरुले वास्ता नगर्नु, सरकार बनाउने कसरतमा अन्य दलसंग भेटघाटमा हतारिनु तथा विवादित एम्सीसीका पक्षमा नेताहरु वक्तब्यवाजी गर्नु र महिला अस्मिताविरुद्ध बोल्न थाल्नुले जनताभन्दा सत्ता प्यारो भन्ने भान पर्न थालेको छ। नेताहरुले विगतमा गरेका गल्तीलाई आत्मआलोचना गर्नेभन्दा दोहोर्याउने हुन् कि भय उत्पन्न हुनथालेको छ। तिनलाई बेलैमा महसुश गरी आफ्ना प्रतिवद्धतालाई पूरा गर्न नेताहरु अब पनि चुक्नुहुँदैन। यसर्थ उपरोक्त दुईमध्येमा पहिलो प्रतिवद्धतामा नेताहरु बढी गम्भिर हुनु जरुरी छ।

यतिबेला न्यायलयबाट असंवैधानिक कदम सच्च्याइएको मात्र हो प्रतिगमन सच्चिसकेको होइन। प्रतिगमन त केपी ओली चरित्र नढलेसम्म रहिरहन्छ। र, सरकार बनाउने खेलमा त्यो चरित्रको पुनरावृति हुने खतरा उत्तिकै छ। केपी पक्षले फेरी पनि बाजी मार्ने चुनौती पनि दिइरहेकै छन्। यसबेला माधव-प्रचण्ड पक्षका सांसदहरु लोभलाचलमा परे वा पद नपाएर निहुँ खोजे भने तिनले केपी ओलीलाई साथ दिनेछन्।

अर्कोतर्फ प्रधानमन्त्रीको लोभमा कांग्रेस र सजपा मोलमोलाईमा परे भने त्यसबेला केपी ओलीले बाजी मार्नेछन्। अर्कोतर्फ, व्यक्तिगत लोभलालसा र महत्वकांक्षाहरु पूरा गर्नका लागि यताउत्ता गरिरहने एकथरी होलान् तर लोभलाचल नै नभएका, दिग्गज व्यक्तिहरु समेत ओली पक्षमा लागेका छन् ? यसलाई हलुका रुपमा हेरिनु हुन्न। माधव नेपालले उत्पादन गरेका, हुर्काएका नेताहरु किन आज यतैपट्टी फर्केर धारे हात लगाइरहेका छन् ? बादल, मणी थापा, टोपवहादुर रायमाझी जस्ता प्रचण्डका सहयोद्धाहरु यो विषम् घढीमा किन आज प्रचण्डलाई नै वर्गदुश्मन मानिरहेका छन् ? पक्कै यतापट्टी केही न केही कमजोरीको भएकैले यसो भएको हो भनेर दुनियाले सहजै बुझेका छन्। केपी ओलीमा शून्यबाट खेलेर उनान्सय पुग्ने कला छ तर माधव-प्रचण्ड उनान्नसयबाट ९ मा झरेपछि मात्र चेत्दछन्। त्यसले स्पष्ट ढंगले विगतको कमजोरीमा ध्यान नदिइ मैदानमा जाने हो भने सधै पोष्टमा लागेर बल नफर्किन सक्छ। र, अर्को विपत्मा कार्यकर्ताहरु समेत साथ नहुनसक्छन्। ती कमजोरीहरुलाई अब नसच्याउने हो भने भविष्यका दिन पनि प्रचण्ड-माधव नेतृत्वका लागि सहज छैन। अतः सवैले व्यक्तिगत चरित्र र प्रवृतीहरुलाई बेलैमा सच्च्याउनु पर्छ, आम जनताले सच्चिएको महसुश गर्न पाउनु पर्दछ। प्रचण्ड-नेपाल पक्षका नेता कार्यकर्ताहरु केपी ओलीभन्दा अब्बल छन्, पार्टी र देशप्रति इमान्दार छन्, जनपक्षीय छन् भने देखाउन सक्नुपर्दछ। यो स्वाभिमान कार्यकर्ताहरुको यो पहिलो शर्त हो।

विगत ३ वर्षलाई हेर्दा ओली नेतृत्वबाट नागरिकका आवाजलाई हावामा उडाइदिने र पार्टी कार्यकर्ताको विरोध र आलोचनालाई कुल्चने काम हुँदै आयो। पार्टी नेतृत्व ओलीको हातमा पुगेपछि नै पार्टी-कार्यकर्ताबीचको सम्पर्क-समन्वय संरचनाहरुलाई ध्वस्त हुँदैै टिके प्रणाली शुरु भयो।  कार्यकर्ताको योग्यता, क्षमता र लगानलाई वेवास्था गर्दै आफ्नो जयजयकार गर्ने, आफूलाई आइलभ यु भन्नेहरुलाई मात्र अवसर दिने पद्धती स्थापना भयो। पार्टीकै कार्यकर्ता भएपनि फरक समूहको रहेछ भने ढोकामा ढिक्किनसमेत नदिने अछूत ब्यवहार गरियो। त्यो अनुभूति गर्ने नेतागणहरुले केपी ओलीलाई कसैको पनि आलोचना सुन्ने नचाहने, बिरोध गर्यो कि पाखा लगाईहाल्ने पात्र भनेर आरोप लगाएका छन्। यो आरोप लाउने नेताहरुले आफ्नो स्वस्थ आलोचना र विरोधलाई समेत सम्मान गर्दै पार्टी आन्तरिक जीवनमा लोकतन्त्रलाई सुदृढ गर्न तयार हुनुपर्दछ। उपरान्त कार्यकर्ताको उचित सम्मान हुने, नेताहरुसँग तिनको सहज पहुँच हुने प्रणालीलाई पुनस्र्थापना गरिनुपर्दछ। पार्टी कार्यकर्तालाई जनताको हित र विकासमा चलायमान बनाउनु पर्छ। नेताहरु वास्तवमै विकास, समृद्धि, समानता, न्यायका हिमायती हुन्, राज्य सञ्चालकका लायक हुन् भनेर जनतालाई अनुभूति गराउन सक्नुपर्दछ। होइन भने केपी प्रवृतिभन्दा हामी कुनै फरक हुने छैनौं ।

दोश्रो, अहिले अदालतले केपी ओलीको कदमलाई असंवैधानिक करार गरिसक्दासमेत प्रधानमन्त्री र राष्ट्रपतिलाई कहीकतै दुखेको छैन, आफ्नो जघन्य अपराधमा रतिभर संकोच लागेको छैन। बरु संसदमै अब देखाइदिन्छौं, सदनमा जित्न सकेनौं भने २ वर्षपछि हुने चुनावमा चखाइदिन्छौं भनेर चुनौती दिइरहेका छन्। चुनौती दिने उनीहरुको मनोवलसमेत उच्च छ। बरु यताका नेता कार्यकर्ताहरु यता कि उता गर्दैछन् तर उनका नेता कार्यकर्ताहरु अझै शक्तिशाली झैं ढिस्मिस् नगरी उभिएका देखिन्छन्।

अतः उनीहरुले सत्तामा रहे भने शक्तिको आड्ले हामीभन्दा अगाडि हुन्छन् भने हामी सत्तामा रहँदा हाम्रो कमजोरीमा खेलेर उनीहरु नै बलियो रहने सम्भावना रहन्छ। यसो हुँदा दुई वर्षपछिका दिन पनि हाम्रा लागि सहज छैन। दुई वर्षपछि हुने निर्वाचनमा आफूलाई केपीभन्दा इमान्दार र अब्बल देखाउनका लागि समेत हाम्रो समूहमा सांस्कृतिक रुपान्तरण हुनैपर्दछ, आआफूभित्र रहेको सामन्तवादी चरित्रलाई नष्ट गर्नैपर्दछ। भृकुटीमण्डप अगाडिका तीन वटा र देशभरीका सानाठूला आमसभामा उभिएर हाम्रा कमजोरीहरु सच्चाउछौं भन्ने कुरामा नेताहरु प्रतिवद्ध हुनैपर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्