महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक बुढाथोकी फरार

pic
  • 19
    Shares
लोकपाटी न्यूज

धादिङ। एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन्। त्रिपुरासुन्दरी-१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो।

ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन्। एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए। काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पु¥यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए। त्यतिबेला सडक मजदूर भने खाना खाँदै थिए। पछि तिनै मजदूरले खाल्डो खनेर कुमालको शव झिकेका थिए।

‘शव घोप्टो परेको अवस्थामा भेटिएको थियो। टाउकोमा ठूलो घाउ र रगत पनि देखिएको छ,’ सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब–इन्स्पेक्टर भानुभक्त आचार्यले भने। शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

घटनापछि उत्तेजित भीडले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो। आगजनीबाट एक्स्काभेटर क्षतिग्रस्त बनेको छ।

चालकलाई तत्काल पक्राउ गरी कानुनसम्मत कारबाही हुनुपर्ने स्थानीयको माग छ। तर घटनालगत्तै फरार दाङ घर भएका चालक बुढाथोकी भने अझै पक्राउ पर्न सकेका छैनन्। फरार चालकको खोजतलास भइरहेको धादिङ प्रहरी प्रमुख महेन्द्र खड्काले बताए। कान्तिपुर दैनिकमा हरिहरसिंह राठौरले समाचार लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्