आरआर क्याम्पसमा ठूलो संख्यामा प्रहरी परिचालन

RR_college
  • 32
    Shares
लोकपाटी न्यूज

काठमाडौं। रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेकपाका दुई विद्यार्थी समूह पक्षबीच झडप हुनसक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। दुई पक्षका विद्यार्थी समूहबीच मंगलबार विवाद भएको छ।

नेकपाको ओली समूह र प्रचण्ड- माधव नेपाल समूहका विद्यार्थीहरूको विवाद उत्कर्षमा पुगेपछि झडप हुने सम्भावना रहेको भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

‘दुई समूहका विद्यार्थीहरू बिच झडप भएको सूचना आएको छ। हाम्रो टोली पुगिसकेको छ। थप जानकारी आउँदै छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने। यसअघि फागुन ३ गते पनि दुई समूहका विद्यार्थी बिच झडप भएको थियो। झडपमा केही विद्यार्थी घाइते भएका थिए।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा भित्र दुई समूह देखिएका छन्। पार्टी निकटका विद्यार्थीहरू पनि विभाजित भएका छन्। प्रचण्ड-माधव समूह सर्वोच्चबाट संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने रणनीतिमा छन्।

सर्वोच्च अदालतमा परेको विघटन रिटमा अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको थियो। फागुन २३ गतेलाई संसद् आह्वान गरिएको छ।