दिन बिराएर किन झापा पुग्दैछन् प्रधानमन्त्री ओली ?

KP Sharma Oli-33
  • 15
    Shares
लोकपाटी न्यूज

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार फेरि गृहजिल्ला झापा जाने भएका छन्। दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए।

विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न उनी एक दिनको अन्तरमा फेरि झापा नै आउन लागेका हुन्। ३ सय शैयाको उक्त अस्पतालका सञ्चालक दुर्गा प्रसाई हुन्। ओली र पुष्पकमल दाहाललाई घरमा वोलाएर मार्सी चामको भात खुवाएका प्रसाईं त्यसपछि चर्चामा आएका हुन्।

यसअघि उनको १ सय शैयाको क्यान्सर अस्पताल सञ्चालनमा आइसकेको छ। त्यस्तै प्रधानमन्त्री ओलीले आजै विर्तामोड नगरपालिका-७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ। विर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीका अनुसार प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्ने छन्। ‘७ धुर जग्गासहितको घर विपन्न परिवारले पाउने छन्,’ शिवाकोटीले भने।

त्यसपछि ओलीले मोरङको उर्लाबारी नगरपालिकामा निर्माण हुने एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने भएका छन्। मंगलबार उर्लाबारी ८ मा रहेको बस्ती शिलान्यासका लागि प्रधानमन्त्री ओली आउने वडाध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए। वडाध्यक्ष कार्कीका अनुसार सन्थाल बस्तीको निर्माण कार्य दुई वर्षभित्र पूरा हुने लक्ष्य राखिएको छ।

प्रधानमन्त्री ओलीले शिलान्यास गरेपछि शहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रममार्फत १ सय ३६ परिवारलाई लक्षित गरेर एकीकृत बस्ती निर्माण कार्य अघि बढ्ने उनले जानकारी दिए। सरकारले लोपोन्मुख समुदायमा पर्ने सन्थालका लागि करिब ३० करोड रुपैयाँ बराबरको लगानीसहित वडा ८ र ९ को सीमामा पर्ने रातोहोली खोल्सी नजिक बस्ती निर्माण गर्नेछ।

संसद पुनःस्थापनापछि आफू झन् बलियो बनेको बताउने गरेका ओलीको अहिले देश दौडाहा बढेको छ। उदघाटन, शिलान्यासलगायतका कार्यक्रमका लागि उनी व्यस्त हुने गरेका छन्। हिजो मात्रै प्रधानमन्त्री ओली पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्