वार्ता सकारात्मक भए मात्र प्रतिबन्ध फुकुवा गर्छौं : सञ्चारमन्त्री

Parwat_Gurung
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन्।

सरकारले २०७५ साल फागुन २८ देखि विप्लव नेकपमाथि प्रतिबन्ध लगाएको छ। विप्लव नेतृत्वको पार्टीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले उक्त दलसँग छिट्टै वार्ता हुने विश्वास व्यक्त गरे।

‘वार्ता टोली बनिसकेपछि नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबाट पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुनेछ भन्ने हामी विश्वास गर्दछौं,’ उनले भने। उनले शान्ति प्रक्रियामा ल्याउने काममा सरकारले स्पष्ट दृष्टिकोण राखेको बताए। सञ्चारमन्त्री गुरुङले विप्लवसँग वार्ताबाट प्रतिबन्ध, मुद्दा लगायतको सबै विषय टुंगो लाग्ने बताए।

हिंसात्मक गतिविधिमा लागेको ठहर गर्दै सरकारले विप्लव नेतृत्वको नेकपाका सम्पूर्ण गतिविधिमाथि रोक लगाएको थियो। त्यसयता नेपाल प्रहरीले समूहका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति लिँदै आएको छ। तर, चार वटै सुरक्षा निकायले यो समस्याको समाधान राजनीतिक तहको वार्ताबाटै गर्नुपर्ने बताउँदै आएका थिए। हालसम्म विप्लवका करिब दुई हजार नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्