कविता: म सहि देख्दै छु

  • 77
    Shares
लोकपाटी न्यूज

लेखक: अच्युत दाहाल

लिपिबद्द कवितामा,
म महान क्रान्ती,
छरपस्ट यी शब्दहरूमा,
म बन्दुकबाट निस्केको गोली,
यो स्वप्निल कलमलाई,
म घातक हतियार,
अनि यी सफा खाली पन्नालाई,
म विशाल सैनिक परेड स्थल देख्दै छु,
कि त यी मेरो आँखा नै गलत हुन्।

म गरिबीकोआँसु बाट निस्किएको,
रुन्चे वचनलाई रद्द गर्दै,
तितो रोदनको पीडा संग अलिकति,
धनिको खुशीको अमृत मोलेको देख्दैछु,
निर्धन को आन्द्रा सुकाएर,
सुनको महलमा सुनकै सिँढी चढाइ,
पैसाको मान्छे सजाएको देख्दैछु,
गरिवीका वेदनालाई,
पटक-पटक मजाक बनाएर,
यो जीवनको रंगमञ्चमा,
सबैलाई हँसाएको देख्दैछु,
कि त यी मेरा आँखा नै गलत हुन्।

चेलीको बलात्कृत आँशु लुकाएर,
पुरस्कृत ती अनुहारहरु,
शान्तीको माहोलमा पनि,
अकस्मात् अशान्ती छाएको,
पाण्डव जस्तो धर्मीलाई छोडेर,
दुर्योधन जस्ताको मोहमा फस्दै,
आफ्नै नाता गोतामा,
कोलाहल मच्चाउदै रडाको र,
वैमनस्यताको बिजारोपण देख्दैछु,
कि त मेरा यी आँखा नै गलत हुन्।

अब थाहा भयो,
मेरा यी आँखाले जे देख्दैछन् ,
सही नै देख्दैछन्,
मेरो दृष्टि धमिलो होइन रहेछ,
बैरिको सोचाइ मै खोट रहेछ,
तर…
आज अन्यायलाई न्याय दिन,
रगतको धारा होइन,
शब्दको धारा बग्दैछन् ,
चकमन्न छ चारैतिर,
र त
दुश्मन ढलेको देख्दैछु,
म जे देख्दैछु सही देख्दैछु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्