सरकार र विप्लव नेकपाबीच कसरी बन्यो वार्ताको वातावरण ?

oli-biplab
  • 21
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेकपाले दुई पक्षबीच राजनीतिक वार्ताका लागि उच्चस्तरीय समिति गठन गरेका छन्। हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा २ वर्षदेखि गतिविधिमा प्रतिबन्ध लगाइएको चन्द नेकपासँग वार्ता गर्न मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा संयोजक र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेको हो।

त्यसको केहीबेरमै महासचिव चन्दले नेकपाका प्रवक्तासमेत रहेका सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा संयोजक र केन्द्रीय सदस्य उदयबहादुर चलाउने सदस्य रहेको वार्ता टोली गठन गरेको विज्ञप्तिमार्फत् सार्वजनिक गरेका थिए ।

गृहमन्त्री थापा र चन्द नेकपाको वार्ता टोली संयोजक विश्वकर्मा सशस्त्र द्वन्द्वकालका सहयोद्धा हुन्। उनीहरू पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्रबाट छुट्टिएर गठन भएको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा पनि सँगै थिए । वैद्य समूहबाट चन्द र विश्वकर्मासहितको समूह अलग भएको थियो।

थापा भने देव गुरुङ, पम्फा भुसाललगायतसँग दाहाल नेतृत्वको तत्कालीन माओवादी केन्द्रमै फर्किएका थिए। वार्ता टोली सदस्य चलाउने तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वकालमा जनमुक्ति सेनाका बटालियन कमान्डरसम्म भएका थिए । चन्द समूहको सैन्य फाँटमा उनको भूमिका महत्त्वपूर्ण रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार वार्ता टोलीका दुवै सदस्य उपत्यकामै छन्। वार्ता कहिले, कुन ठाउँमा बस्ने भन्ने सार्वजनिक गरिएको छैन।

दुवै पक्षले वार्ताका लागि न्यूनतम सर्त भने औपचारिक रूपमा बताएका छैनन्। स्रोतका अनुसार चन्द समूहले हतियार व्यवस्थापनभन्दा प्रतिबन्ध फुकुवा, पक्राउ परी विभिन्न कारागारमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा, उनीहरूमाथि लगाइएका मुद्दा फिर्तालाई न्यूनतम सर्तका रूपमा अघि सारेको छ ।

चन्द समूहसम्बन्धी मुद्दाको एकीकृत विवरण र अदालती प्रक्रियाबारे गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयसँग समन्वय थालेको छ। पछिल्लो पटक फागुन ८ गते चन्दले आफूहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेर खुला रूपमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग संवाद र वार्ता गर्न सकारात्मक रहेको बताएका थिए। कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्