किन हटाइँदैछ आइपीओमा १० कित्ताको प्रावधान ?

  • 55
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले आइपीओमा १० कित्ता मात्र आवेदन दिन पाउने प्रावधान हटाउन छलफल सुरु गरेको छ। धितोपत्र बोर्डले नयाँ व्यवस्था लागू भएको करिब २ वर्षपछि उक्त प्रावधानलाई परिमार्जन गर्न गृहकार्य अघि बढाएको हो। सेयर बजार सहभागितामूलक बनाउन भन्दै नियामक नेपाल धितोपत्र बोर्डले लागू गरेको १० कित्ता सेयरमा आवेदन दिन पाउने प्रावधान पुनरावलोकन गर्न लागेको बोर्डका अधिकारीहरु बताउछन्।

बोर्डका प्रवक्ता निरज गिरीले यसबारेमा अहिले छलफल चलिरहेको जानकारी दिए। प्रवक्ता गिरी भन्छन्, ‘१० कित्ताको प्रावधान लागू गर्दाकै बखत आवश्यकता अनुसार पुनरावलोकन गरिने स्पष्ट पारिएको थियो।’ १० कित्ताको प्रावधान दीर्घकालका लागि नभएको लागू गरिएको समयमै उल्लेख गरिएको थियो। सोही अनुरुप अहिले पुनर्विचारको समय आएको बोर्डको बुझाइ छ। २०७५ चैत २७ गतेदेखि लागू गरिएको न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था हटाउन अहिले बोर्डमा छलफल चलिरहेको छ।

१० कित्ताको प्रावधान आएपछि लगानीकर्ताको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको थियो। मार्केटको भोल्यूम बढ्ने कारण मध्येको एउटा कारण १० कित्ताको प्रावधान पनि हो। सिडिएसीका अनुसार अहिले ३० लाख २४ हजार ८६ हजार हितग्राही खाता (डिम्याट अकाउन्ट) खुलेका छन्। धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकनका लागि छलफल अघि बढाएको भए पनि साना लगानीकर्ताहरुले भने यसबाट सन्तुष्ट छैनन्, सामाजिक सञ्जालहरुमा उनिहरुको विरोध स्वर सुनिन थालेको छ। तर केही ठूला लगानीकर्ताहरुको भने यो निर्णयमा समर्थन रहेको छ। साना लगानीकर्ताहरुले भने नियामकले ठूला लगानीकर्तालाई मात्र हित हुने गरी निर्णय नगर्न बोर्डलाई चेतावनीसमेत दिएका छन्।

नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल, १० कित्ताको प्रावधान हटाइन्छ भने त्यो सरासर गलत निर्णय हुने बताउछिन्। सरकार दूरदराजका साना तथा आम लगानीकर्ता सेयर बजारमा भित्र्याउन चाहन्छ भने १० कित्ताको प्रावधान अनिवार्य राख्नुपर्ने उनको तर्क छ। पोखरेल भन्छिन्, ‘ठूला लगानीकर्तालाई मात्र हेर्ने हो भने त जे ल्याए पनि भयो नि!

धितोपत्र बोर्डले विद्यार्थी, गृहिणी तथा स-साना पुँजी भएका वर्गको पुँजी बजारमा पहुँच बढाउने उद्देश्य दर्शाउँदै २०७५ चैत २७ गतेदेखि यो व्यवस्था लागू गरेको थियो। तत्कालिन समयमा बोर्डले लिएको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आइपीओमा न्यूनतम १० कित्तामा पनि आवेदन गर्न पाउने व्यवस्था गरेको थियो। जानकारहरु बोर्ड आफ्नो उदेश्यमा केहि हदसम्म सफल भएपनि पूर्ण सफल हुन बाँकी रहेको उल्लेख गर्दछन्।

जनसंख्याको अत्याधिक ठूला हिस्सा अझै पनि पुँजी बजार तथा आइपीओप्रति नै अनविज्ञ रहेका छन्। हाल सञ्चालनमा रहेका डिम्याट खातालाइ करिब ३ करोड जनसंख्यालाई आधार मान्ने हो भने ज्यादै न्यून हो। तथापि, एक व्यक्तिले २ वटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था छ। धितोपत्र बोर्डको १० कित्ते नीतिले पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण भने निकै बढाएको छ। यो व्यवस्थाले अत्यन्त न्यून पुँजी भएकाले पनि आइपीओ भर्न पाएका छन्। यो निकै सकारात्मक पक्ष हो, यो तथ्यलाई धितोपत्र बोर्डले पनि स्वीकार गर्दै आएको छ।

तर १० कित्ताको लागि पनि भाग्यकै भर पर्ने अवस्था आएपछि यो नीतिमा पुनरावलोकन गर्न लागेको बोर्डका अधिकारीहरुकाे दाबी छ। पछिल्लो समयमा आइपीओमा लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ। विशेषागरी प्राथमिक सेयरमा लगानीकर्ताहरुको चासो बढ्दै गएको पाईन्छ। थोरै लगानीमा आवेदन दिन पाउने भएपछि साना लगानीकर्ताहरुलाई लगानी जुटाउन पनि खासै समस्या छैन। आफ्नो रकम अनुसारको आवेदन दिन पाउने व्यवस्था छ तर पुगेसम्म १० कित्ता दिने नपुगे गोलाप्रथा विधिबाट सेयर बाँडफाँड हुँदै आएको छ।