जनार्दन शर्माको प्रस्ताव : सांसदहरू स्वतन्त्र ढंगले छलफलमा जुटौं

Janardan Sharma
  • 235
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता जनार्दन शर्माले पार्टीमा सचिवालय सदस्य रहेका बाहेक सबै सांसदलाई स्वतन्त्र छलफलमा जुट्न आह्वान गरेका छन्। जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक रहेको नेता शर्माको भनाई छ।

पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्र रुपले हुने छलफल कुनै गुटको नहुने पनि शर्माले बताएका छन्। पुनर्स्थापनापछि प्रतिनिधिसभाको पहिलो बैठक बस्न ५ दिन बाँकी रहँदा सांसद शर्माले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन्। संसद अधिवेशन यही फागुन २३ गते अपराह्न ४ बजे बस्दै छ।

उनले लेखेका छन्, ‘सचिवालय सदस्यहरू बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी,आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्र रूपले छलफल गर्न माननीयहरूमा हार्दिक अपिल गर्दछु।’

शर्माले यस्तो छलफल यो वा त्यो नेतृत्वको पक्षमा नभएर साझा सुझाव तयार गर्ने अर्थमा लिनुपर्ने पनि बताएका छन्। कुनै त्राश र प्रलोभनमा नपर्ने गरी छलफल गरिने उनको भनाइ छ।‘यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्ने अर्थमा भएको समेत जानकारी गराउँदछु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ,’ शर्माले भनेका छन्।

यस्तो छ शर्माको अपिल:

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एवं पदीय झगडाका रुपमा आ-आफ्ना बुझाइ रहेका छन्।

जे भए पनि जननिर्वाचित संसदसमेत भंग हुने अवस्थासम्म पुग्नु हामी सबैका लागी दुर्भाग्यपूर्ण अवस्था हो। जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझपूर्ण निर्णयबाट संसदको पुन:स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफैँप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ।

जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागी पहल गर्ने कुराको महशुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्र रुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु।

यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएकोसमेत जानकारी गराउँदछु। कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्