काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपासँगको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन्।
वार्ता सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको उनको दाबी छ। वार्ता सकिएपछि थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत पहिलो चरणको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका हुन्। उनले छिट्टै सुखद परिणाम आउने अपेक्षा समेत गरेका छन्।
उनले लेखेका छन्, ‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ। धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ। छिट्टै सुखद परिणाम आउने अपेक्षा छ।’
यसअघि वार्ता टोलीका सदस्य राजन भट्टराईले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका थिए। मङ्गलवार सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेको थियो।
त्यसैगरि विप्लव समूहले पनि मंगबार नै प्रवक्ता खड्कप्रसाद विश्वकर्मा प्रकाण्डको संयोजकत्वमा उदय चलाउने दीपक सदस्य रहने गरी वार्ता टोली गठन गरेको थियो। विप्लव समूहको वार्ता टोली मङ्गलवार नै काठमाडौं आइपुगेको थियो। विप्लव समूहले प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता-कार्यकर्ताको रिहा पहिलो सर्त राखेको छ। सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।