आफताब आलमलाई छुटाउन आफ्नो तर्फबाट लागिरहन्छु : सभापति देउवा

  • 42
    Shares
लोकपाटी न्यूज

रौतहट। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको बचाउ गरेका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका -६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए।

उनले आलमलाई पुरानो झुटो मुद्दामा फसाइएको भन्दै उनले आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताए। महायज्ञको शुभारम्भ गर्दै देउवाले भने, ‘शेख अफ्ताब जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नो तर्फबाट लागिरहन्छु ।’ भोलिका दिन परिस्थिति बदलिन सक्ने भन्दै उनले निर्धक्क भएर बस्न आलमलाई आग्रह गरे।

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न समेत सबैलाई आग्रह गरे। पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबुु यादवलगायतले स्वागत गरेका थिए। महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ।

२०६४ चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो रात राजपुरमा बम विस्फोट भएको थियो। आलमका काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकाहरुलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा रौतहट क्षेत्र नम्बर २ का सांसद आलम २६ असोज २०७६ मा पक्राउ परेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्