गृहमन्त्री थापाले भने-पहिला हतियार बुझाउनूस्, भए पो बुझाउनु : प्रकाण्ड

Badal-Prakanda pic
  • 100
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग बुधबार नै दुई चरणको वार्ता गरेको छ। सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकै दिन दुई चरणको वार्ता भएको हो। सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन्।

यसअघि बुधबार बिहान पहिलो चरणको वार्ता भएको थियो। बुधबार अपरान्ह बालुवाटारमा सम्पन्न दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको वार्ता टोलीका सदस्य भट्टराईले जानकारी दिए। वार्ता सकारात्मक निष्कर्षमा पुग्ने उनले उल्लेख गरेका छन्। सरकारी टोलीले वार्ता सकारात्मक रुपमा अघि बढेको बताए पनि विप्लव नेकपाको वार्ता टोलीले भने कुनै प्रतिक्रिया दिएको छैन।

वार्ताका क्रममा गृहमन्त्री थापाले विप्लव नेकपालाई तत्काल हतियार राज्यलाई बुझाउन आग्रह गरेका थिए। गृहमन्त्रीको भनाई उद्धृत गर्दै विप्लव नेकपाका एक नेताले भने, ‘गृहमन्त्री थापाले तत्काल हतियार बुझाउन भन्नुभयो। हाम्रो टोलीले हतियार भए पो बुझाउनु भन्ने प्रतिक्रिया दियो।’

वार्ता निरन्तर जारी रहने बताइएको छ। सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई छन् भने विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने छन्। दुवै पक्षबाट मंगलबार वार्ता टोली गठन गरिएको थियो।

वर्तमान केपी ओली नेतृत्वको सरकारले नै ०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि सो समूहले २ हजार बढी नेता कार्यकर्ता पक्राउ गरिसकेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्