शान्तिपूर्ण राजनीतिमा आउने विप्लवको निर्णय सकारात्मक : कमल थापा

Kamal_Thapa
  • 35
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति सकारात्मक भएको बताएका छन्। अध्यक्ष थापाले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिवद्धता स्वागत योग्य भएको बताए।

सरकार र विप्लव नेकपाबीच भएको तीन बुँदे सहमति पत्र सार्वजनिक लगत्तै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक छ। संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागत योग्य छ।’

सरकार र विप्लव नेकपाबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।

सहमतिको विस्तृत विवरण भोलि शुक्रबार दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने वार्ता टोलीले जनाएको छ। उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र भूमिगत नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने समेत वार्ता टोलीले जनाएको छ।

सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै दुई वर्ष अगाडि प्रतिबन्ध लगाएको थियो। उक्त समयमा मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले भनेका थिए, ‘विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिस्ट पार्टी नामको समूहद्वारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न हुने या सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई आपराधिक तथा विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानुनबमोजिम कारबाही गरिने निर्णय गरिएको छ। त्यसैगरी अवैध हातहतियार तथा खरखजानाको नियन्त्रण गर्न सूचना जारी गर्ने निर्णय गरिएको छ।’

मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको थियो। सरकारले वार्ता समिति बनाएको एक घण्टामै विप्लवलेसमेत खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संयोजकत्वमा उदयबहादुर चलाउने ‘दीपक’सदस्य रहेको वार्ता समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्