घेराबन्दी गरेर ओली र प्रचण्डलाई एकतामा आउन बाध्य पार्छु : वामदेव गौतम

Bamdev_Gautam
  • 224
    Shares
लोकपाटी न्यूज

काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकताका लागि जुटेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि आफूले नयाँ जुक्ति सोचेको बताएका छन्। बिहिबार कोरोना भाइरस विरुद्धको खोप लगाउन सिभिल अस्पताल बानेश्वर पुगेका गौतमले पत्रकारहरूसँग केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी एकता अभियान अगाडि बढाउने बताएका हुन्।

उनले एकताका निम्ति दोस्रो पुस्ताका नेताहरूको दबाबमा एकता अभियानलाई सफल बनाउनुपर्ने बताए। एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उनको भनाइ छ। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अझै पनि एकताको पक्षमा नआएको गौतमले बताए।

‘धेरै ठाउँमा उहाँहरुले बोलेको कुरा सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भाछैन’, उनले भने, ‘मेरोचाहिँ प्रयत्न के छ भने केपी ओलीतिर रहेका सेकेन्ड जेनेरेसनका र दाहालतिर रहेका सेकेन्ड जेनेरेसनका कमरेडहरुलाई एकताबद्ध गर्ने, तलबाट एउटा ठूलो पंक्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने। यो अभियान अब हामीले चलाउँदै छौं र चारैतिरबाट यी दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला।’

पहिलो एकता केपी र पुष्पकमलबीचकै एकतालाई मान्ने पनि उनले बताए। ‘पहिलो एकता केपी र पुष्पकमलबीचकै एकतालाई मान्ने हो, अरूले एकता गर्दैमा त्यो एकता हुँदैन। जनताले मान्दैन, विश्वले पनि मान्दैन। दुइटालाई एकताबद्ध गरेपछि फेरि यो पार्टी एकताबद्ध भयो भन्ने हुन्छ’, उनले भने, ‘तर उहाँहरुलाई त्यो एकतामा ल्याउनका निम्ति उहाँहरूको वरिपरि बसेकाहरुलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली जनताको शक्ति, कम्युनिस्ट आन्दोलनप्रति शुभचिन्तक समर्थन गर्ने शक्तिले घेराबन्दी गरेर उहाँहरूलाई एकताबद्ध गराउने पक्षमा म छु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्