नेकपा प्रचण्ड-माधव समूहका नेता निर्वाचन आयोगमा

Madhab_prachanda_nekapa
  • 240
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्यनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव नेपाल समूहका नेताहरु बिहीबार निर्वाचन आयोगमा पुगेका छन्। पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन आफूहरु निर्वाचन आयोग आएको नेताहरुले बताएका छन्। बिहीबार नेताहरु राजेन्द्र पाण्डे र लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका हुन्।

बुधबारमात्रै नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठकले पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आपत्ति प्रकट गरेको थियो। आयोगसमक्ष पार्टीले पुनः ध्यानाकर्षण र ताकेता गर्ने निर्णय पनि बैठकले गरेको थियो। त्यसैअनुसार नेताहरु आयोग पुगेको यो समूहका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

‘हिजो पार्टीले गरेका निर्णयहरु लिखित रुपमै जानकारी पनि गराउने साथै चाँडो निर्णय गर, अकर्मण्यतामा नफस, निर्वाचन ऐन, कानुन, संविधान र विगतका नजिरहरुको आधारमा चाँडो फैसला गर भनेर आग्रह गर्न साथीहरु आयोग पुग्नु भएको छ,’ उनले भने।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र समेत संकलन गरिएको थियो। बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नपर्ने ठहर गरेको थियो।

गत माघ २० मा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रियाअनुसार आधिकारिकता दाबी गर्दै प्रचण्ड-नेपाल पक्षले आयोगमा निवेदन दिएको छ। तर आयोगले उक्त निवेदनमाथि के गर्ने भन्ने निर्णय गरेको छैन।

त्यस्तै प्रचण्ड-माधव पक्षका नेताहरु देव गुरुङ र पम्फा भुसाल भने बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न सिंहदरबारस्थित संसद सचिवालय गएका छन्। प्रचण्ड-माधव पक्षले गरेको संसदीय दलको बैठकको निर्णय जानकारी गराउन उनीहरु सभामुखसमक्ष गएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्