अँध्यारा कोठामा गरिएका तानाबानाले सरकार ढल्दैन : विष्णु पौडेल

Bishnu_Paudel
लोकपाटी न्यूज
0 Shares

लुम्बिनी। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन्। गृह जिल्ला रुपन्देहीमा बिहीबार पत्रकारसँगको भेटमा अर्थमन्त्रीले पौडेलले अब पनि यही सरकार निरन्तर रहने बताए।

प्रतिनिधि सभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने बताए। नेकपाको ओली समूहका महासचिव समेत रहेका पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिष्ट इतरको सरकार बनाउन प्रचण्ड-नेपाल समूह लागिरहेको आरोप लगाए।

उनले त्यो प्रयास निरर्थक हुने जिकिर गरे। उनले मध्यरातमा अँध्यारा कोठामा गरिएका तानाबानाले सरकार ढाल्न नसक्ने बताए। ‘आफ्नै पार्टी फुटाएर, कहिले कांग्रेस त कहिले जनता समाजवादीका नेता भेट्ने र आफ्ना समर्थनमा सरकारमा बसिदिन आग्रह गर्नेहरु सफल हुँदैनन्,’ उनले भने, ‘जनताले साथ दिएको केपी शर्मा ओली नेतृत्वको सरकार नै हरेक तरिकाबाट लायक सरकार हो ।’

उनले अप्राकृतिक ढंगबाट सरकारलाई गिराउने काम गर्नेहरुले सरकारको विकासका योजनामा असर नगर्ने बताए। पौडेलले भने, ‘यो सरकार गिराएर कम्युनिष्ट इतरको सरकार बनाउने उहाँहरुको प्रयास निरर्थक हुनेछ।’ उनले अहिले पनि नेकपा राष्ट्रिय राजनीतिको नेतृत्व शक्ति रहेको र बाँकी कार्यकाल ओली नेतृत्वको सरकारले काम गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्