नेकपाले संसद सचिवालयलाई दियो ओलीलाई दलको नेताबाट हटाएको जानकारी

Prachanda_Nepal_Nekapa
  • 6.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई संसदीय दलका नेताबाट हटाएको जानकारी संघीय संसद सचिवालयलाई जानकारी गराएको छ। बिहीबार प्रमुख सचेतक देव गुरुङसहितका नेताहरु संघीय संसद सचिवालय सिंहदरबार पुगेर ओलीलाई दलको नेताबाट हटाएको जानकारी गराएका हुन्।

साथै, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई पनि जिम्मेवारीमुक्त गरेको जानकारी संसद सचिवालयलाई गराएको छ। ‘संसद पार्टीका संसदीय दलका निर्णयअनुसार चल्ने भएकाले हामीले पार्टीमा भएको परिमार्जनबारे संसद सचिवालयलाई जानकारी गराएका छौं। प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका व्यक्तिबारे पार्टीले गरेका निर्णय जानकारी गराएका हौं’

संसदीय दलमा भएको परिमार्जनबारे जानकारी दिन प्रचण्ड-नेपाल पक्षका प्रमुख सचेतक गुरुङसहित सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ संसद् सचिवालय पुगेका थिए। बुधबारमात्रै नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठकले सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

बैठकले नेम्वाङलाई तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन पनि दिएको थियो। बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो। बैठकमा पार्टी केन्द्रीय समितिको निर्णयबारे छलफल भएको बुझिएको छ।

त्यसैअनुसार बिहीबार प्रचण्ड-नेपाल पक्षका नेताहरु संघीय संसद सचिवालयमा पुगेर उक्त निर्णयबारे जानकारी गराएको हो। साथै उक्त पक्षले ओली समूहले गरेका कुनै पनि निर्णय नमान्न संसद सचिवालयलाई आग्रह गरेको छ। प्रचण्ड-नेपला पक्षले सो आग्रहसहितको पत्र संसदका महासचिव डा भरतराज गौतमसमक्ष दर्ता गराएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्