ओली समूहको संसदीय दलको बैठकमा गौतम नजाने

Bamdev-Gautam
  • 165
    Shares
लोकपाटी न्यूज

काठमडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतम केपी ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन्। नेकपाको प्रचण्ड-नेपाल पक्षले ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट ओली समूहले संसदीय दलको बैठक बोलाएको छ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ। शुक्रवार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिवार बस्ने संसदीय दलको बैठकमा बैठक आउन निम्तो दिएका थिए।

‘उहाँ (वामदेव) न केपी शर्मा ओली गुटको बैठकमा जानुहुन्छ, न प्रचण्ड र माधव नेपालको गुटको बैठकमा जानुहुन्छ,’ गौतमनिकट स्रोतले भन्यो, ‘त्यसैले आज हुने भनिएको बैठकमा पनि उहाँ जानुहुन्न।’

ओली समूहले पनि संसदीय दलमा आफ्नै बहुमत रहेको दाबी गरिरहेको छ। बैठकमा ११५ जना भन्दा बढी सांसदहरू उपस्थित हुने ओली समूहको दाबी छ। यता नेकपाको प्रचण्ड-नेपाल पक्षले आफ्नो पक्षमा १११ सांसद रहेको दाबी गरेको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभा अधिवेशन बोलाएकी छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। प्रचण्ड-नेपाल पक्षले संसदमा रहेका प्रतिपक्षी दलको साथ खोजेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्