काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेर फर्किएका छन्। नख्खु कारागारमा रहेका उनकै पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वलीलाई भेटेर फर्किएका हुन्। शनिबार बिहान साढे ११ बजे नख्खु कारागारमा रहेका वलीलाई भेट्न विप्लवसहितका नेताहरु गएका थिए।
विप्लवसँग खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दीपक’ कारागार पुगेका थिए। चार नेतासँगको संयुक्त भेटपछि ‘विप्लव’ले वलीसँग छुट्टै पनि भेटेको उनीनिकट एक नेताले बताए। कारागार प्रशासनले वलीलाई प्रक्रिया पुर्याएर आइतबार छोड्ने जनाएको छ।
चन्दले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मन्त्री निवास पुल्चोक पुगेर भेटेका थिए। सरकारसँगको तीन बुँदे सहमतिपछि ‘विप्लव’ नेकपा शुक्रबारदेखि शान्तिपूर्ण राजनीतिमा आएको छ। सहमति अनुसार सरकारले विभिन्न कारागार तथा हिरासतमा भएका ‘विप्लव’ नेकपा नेता-कार्यकर्तालाई रिहा गर्न थालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते ‘विप्लव’ नेकपालाई आतंकारी समूह घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो। वार्ता र सहमति पछि सरकारले बिहीबार प्रतिबन्ध फुकुवा गरिसकेको छ।