काठमाडौँ आईपुग्यो मेलम्चीको पानी

melamchi-khanepani_
  • 182
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटम थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ।

सुरुको पानी फोहोरसहित पानी आउने भएकाले बागमती नदीमा खसालिएको छ। आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ।

आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ। आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरूङमा पानी छाडेको थियो। यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो। सुरूङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ।

शनिवार साँझ सुन्दरीजल पुगेका प्रधानमन्त्रीले पानी संकलन तथा प्रशोधन केन्द्रको समेत अवलोकन गरेका छन्। मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा गरेको कार्यक्रममा उनले मेलम्चीबाट आएको पानी स्विच थिचेर सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पठाएका छन्।  बालुवाटारमा पार्टी संसदीय दलको बैठक सकेर प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यसहित सुन्दरीजल पुगेका थिए।