हिंसाले समाजमा पार्ने असरबारे केन्द्रित हुदै अन्तराष्ट्रिय महिला दिवस मनाइयो

  • 42
    Shares
लोकपाटी न्यूज

निर्मल पौडेल, पर्वत। युवा विद्यार्थीहरुको सहभागितामा महिला र बालबालिका विरुद्ध हिंसा, यसले साजमा पार्ने असर र रोकथामका उपाय बारेमा छलफल गरेर १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वतले रोट¥याक्ट क्लब अफ पर्वतसँगको सहकार्यमा उक्त छलफल कार्यक्रमको आयोजना गरेको हो।

छलफल कार्यक्रममा सहभागी किशोरीहरुले कुनै पनि प्रकारको हिंसा नभएको र भयरहित वातावरणमा शिक्षा लिन पाउनुपर्ने अधिकार सुनिश्चित हुन सकेमा मात्र महिला दिवस मनाएको सान्दर्भिकता हुने कुरामा जोड दिएका थिए। शिक्षालयहरुलाई शान्ति क्षेत्रका रुपमा स्थापित गरिनुपर्ने, छात्रामैत्री शौचालयको प्रबन्ध गरिनुपर्ने, प्रयाप्त पानीको सुविधासहित सेनेटरी प्याड तथा साबुनको प्रवन्ध हुनुपर्ने, विद्यालयमा जेण्डर फोकल पर्सनका रुपमा शिक्षिकालाई राख्दा छात्राहरुलाई सजिलो हुने, घरपरिवारबाट पनि बालबालिकालाई हिंसारहित वातावरणमा हुर्कने बढ्ने वातावरण दिइनुपर्ने लगायतका विषयमा छलफलमा सहभागी किशोरीहरुले मत राखेका थिए।

कार्यक्रममा अतिथिको रुपमा आफ्ना भनाई राख्दै कुश्मा नगरपालिका वडा नं. ११ का वडा सदस्य गिता सुनारले समान कामका लागि समान ज्यालाको व्यवस्था हुनुपर्ने कुरा बताउँदै एक्काइसौं शताब्दीमा आइपुग्दा पनि जातीय आधारमा हेलाहोचो गर्ने, छुवाछुत गर्ने, विभेद गर्ने, अपमानित गर्नेजस्ता व्यवहारले समाजमा हिंसा अन्त्य भैनसकेकोतर्फ संकेत गर्ने हुनाले संविधानले सुनिश्चित गरेको मौलिक हकहरुको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखिन। उनले आज पनि अनेक बहानामा घरेलु हिंसाको समस्या रहीरहेको हुँदा महिला र बालिका बिरुद्ध हुने हिंसाको अन्त्यका लागि सबैजना एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिइन्। शिक्षा आर्जन गर्ने सरस्वतीको मन्दिरमा पनि हिंसा हुने गरेका समाचारहरु सुन्न, हेर्न र पढ्न पर्दा आफूलाई लाज लाग्ने गरेको कुरा औंल्याउँदै शिक्षा क्षेत्र हिंसारहित र शान्त हुनुपर्ने कुरामा उनको जोड रहेको थियो।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष राजेन्द्र पहाडीले सहजीकरण गर्नुभएको छलफल कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवस बनाउनुको सान्दर्भिकता, नेपालमा महिला र बालबालिका बिरुद्ध हिंसाको अवस्था, हिंसाका प्रकारहरु, हिंसाबिरुद्ध कानूनी प्रावधानहरु, उजुरी प्रक्रिया, हिंसाले शिक्षामा पार्ने असर र हिंसा रोकथामका उपायहरुका बारेमा अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागी किशोरी विद्यार्थीहरुले आफ्नै साथीभाइ, नातेदार, छिमेकी, शिक्षक शिक्षिका आदिबाट हुन सक्ने हिंसाका रुपहरुका बारेमा छलफल गरी तिनको रोकथामका लागि के के उपायहरु अवलम्बन गर्न सकिन्छ भनेर सहभागितात्मक मन्थन गरेका थिए।

कार्यक्रममा किशोरी विद्यार्थीहरुले आ-आफ्ना अनुभवहरु पनि प्रस्तुत गरेका थिए। उनीहरुको विचारमा आफू दृढ भएर हिंसा हुन लागेको अनुभूती हुनासाथ प्रतिबाद गर्ने, प्रतिरोध गर्ने, सम्बन्धित निकायमा जानकारी गराउने, गलत व्यवहारमा लागेकासँग सङ्गत नगर्ने जस्ता उपाय अपनाउने हो भने हिंसाबाट जोगिन सहयोग पुग्दछ। हिंसाले पार्ने शारिरीक, मानसिक, संवेगात्मक तथा सामाजिक असरहरुले एउटा व्यक्तिलाई बर्वादीको दिशामा धकेल्न सक्ने भएकाले शिक्षालयहरुमा कुनै प्रकारको हिंसालाई अस्वीकार गर्नुपर्ने कुरामा सहभागी किशोरीहरुको माग रहेको थियो।

पकुवा युवा क्लबकी सुस्मिता मल्लले महिलालाई ३३ प्रतिशत सहभागिता सुनिश्चित भएर मात्र हुँदैन बरु महिलाबिरुद्ध कुनै पनि प्रकारको हिंसा नहुने कुरालाई व्यवहारिक रुपमा नै कार्यान्वयन गरेर देखाउनुपर्दछ भन्ने तर्क प्रस्तुत गरिन्। अर्की छात्रा ममता मगरले म सुरक्षित छु भन्ने वातावरण निर्माण भएमात्र छोरीहरुले निर्धक्क पढ्न पाउने अवस्था बन्न सक्छ भन्ने कुरामा जोड दिइन्।

कुश्मा नगरपालिका वडा नं. ११ पकुवामा रहेको बीरेन्द्र प्राविधिक माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी तथा अभिभावक गिता पौडेल, बीरेन्द्र प्राविधिक माविका शिक्षक अभिभावक संघका अध्यक्ष युवराज विक, प्रधानाध्यापक नरनाथ रिमाललगायतका बक्ताहरुले महिला तथा बालबालिका सबै दृष्टिकोणबाट सुरक्षित र सम्मानित भएको समाजमात्र सभ्य समाज कहलिने हुनाले महिला र बालबालिकाका बिरुद्ध हुने हिंसालाई आजैबाट बन्द गर्नुपर्ने कुरामा जोड दिएका थिए। छलफल कार्यक्रममा रोट¥याक्ट क्लब अफ पर्वतका अध्यक्ष गणेश पौडेलले स्वागत मन्तब्य राख्दै दण्डरहित शिक्षा र हिंसाका बिरुद्ध शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ कार्यान्वयन गरेमात्र १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको सान्दर्भिकता हुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्