सर्वदलीय बैठकमा राष्ट्रपतिले गरिन सरकारकाे प्रशंसा

  • 443
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा विघटनको पुनर्स्थापना सम्बन्धि फैसलाका विषयमा छलफल केन्द्रित भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको बैठकमा राष्ट्रपतिले शिक्षा, स्वास्थ्य लगायतका विषयमा सबै राजनीतिक दलको समान धारणा हुनुपर्ने बताएकी थिइन। भण्डारीले आफ्नो आसन्न बंगलादेश भ्रमणका बारेमा बैठकमा जानकारी गराएकी थिइन्। बैठकमा नेताहरुलाई स्वागत गर्दै भण्डारीले राजनीतिक विषयमा सहमति कायम गर्न अनुरोध गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

‘राष्ट्रपतिले स्वागत गर्दै स्वास्थ्य र शिक्षाका विषयमा एउटै धारणा बनाएर अघि बढ्न सल्लाह दिनुभयो। राजनीतिक विषमया पनि तपाईँहरु सहमति गर्नुस् भन्नुभो,’ उनले भने।

राष्ट्रपति भण्डारीले बैठकमा सरकारले लिम्पियाधुरासम्मको नक्सा छापेर राम्रो काम गरेको भन्दै प्रशंसा गरेकी थिइन्। शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको भन्दै चिन्ता व्यक्त गरेकी राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असरका विषयमा समेत चिन्ता व्यक्त गरेकी थिइन्। कोभिड-१९ का कारण चाहेर पनि दलहरुसँग भेटघाट गर्न नपाएको बताएकी राष्ट्रपति भण्डारीले त्यही कारण आज बैठक डाकेको भन्दै सर्वदलीय बैठकको औचित्य पुष्टि गरेकी थिइन्।

राष्ट्रपति भण्डारीपछि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै राजनीतिक विषयमा प्रवेश गरेका थिए। बैठकमा सहभागी एक अर्का नेताका अनुसार ओलीले आफूले संसद चल्न नसक्ने भएकाले भंग गरेका भए पनि अदालतले आफ्ना विरुद्ध फैसला गरेको बताएका थिए। ओलीले आफू अदालतमा मुद्दा लड्दा लड्दा थकित भएको गुनासो गरेका थिए।

‘संसद चलेन त्यसैले संसद विघटन गरेँ। अदालतको फैसला मेरो अनुसार आएन। फेरि पनि संसद चल्ने अवस्था छैन। त्यसैले चुनावमा जाऔँ भन्नुभयो,’ ओलीलाई उद्धत गर्दै ती नेताले भने।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको फैसलाको अक्षरस पालना गर्नुको विकल्प नभएको बताएका थिए। उनले अदालतको फैसला कार्यान्वयन हुनेमा आशंका उब्जिएको पनि बताए। संसद विघटन गर्नु गलत भएको बताउँदै प्रचण्डले अब फेरि संसद विघटनको बाटो लागे देशका लागि घातक हुने बताए।

‘अदालतको फैसला कार्यान्वयन गर्नुपर्छ भन्नेमा उहाँको जोड रह्यो। फेरि संसद विघटन गरे देशका लागि घातक हुन्छ भन्नेकुरा उहाँले भन्नुभयो,’ बैठकमा सहभागि ती नेताले भने।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने ओलीको धारणाको समर्थन जनाएका थिए। उनले संसद चल्न नसक्ने भए निर्वाचन जाउँ भन्नु ठीक भए पनि अदालतको फैसला आइसकेपछि त्यसको कार्यान्वयन गर्नुको विकल्प नभएको धारणा राखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्