सक्रिय राजनीतिमा फर्कने पूर्वमहान्यायाधिवक्ता खरेलकाे तयारी

  • 27
    Shares
लोकपाटी न्यूज

काठमाण्डौ। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिँदै अब राजनीतिमा फर्किने बताएका छन्। शुक्रवार प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरी उनले आफ्नो राजीनामा र त्यसपछिको कार्यदिशाका बारेमा जानकारी गराएका हुन्। उनले आफू नियुक्तिभन्दा अगाडिकै भूमिकामा सक्रिय हुने पनि बताएका छन्।

उनले भने, ‘आज चाहिँ मैले लेखिए बमोजिमको काम गरेर आएको छु । सम्माननीय प्रधानमन्त्रीलाई मैले भेटेको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु । यसो गरिरहँदाखेरी मैले प्रधानमन्त्रीसँग र मेरो सम्बन्धका बारेमा पनि अघिल्ला मिडियामा केही कुरा लेखिएका थिए । ती कुरा होइनन् । प्रधानमन्त्री र मेरो सम्बन्ध अत्यन्तै सुमधुर छ । राम्रो छ । प्रधानमन्त्रीसँग मैले छलफल नै गरेर मैले यो पदबाट तीन वर्ष पूरा गरेँ र मैले राम्रै गरेको छु भन्ने मलाई लाग्या छ । मैले केही बेठिक गरेको रहेछु भने निश्चय पनि त्यो राइट टु इन्फर्मेशनभित्र पर्छ । राम्रो गरेको गरेको रहेछु त्यो पनि राइट टु इन्फर्मेशनमा पर्छ । किन कि नागरिकले थाहा पाउनुपर्छ । हामी खुला समाजमा छौँ र हामीले खुला समाजलाई स्वीकार गरेका छौँ ।’

उनले राजीनामापछि आफू राजनीतिको खुला मैदानमा प्रवेश गर्ने स्पष्ट पारे। उनले भने, ‘राजीनामा गर्दा लुरुक्क किन गर्ने भनेर हो । विगतमा जताबाट यता आएको थिएँ म त्यतैतिर फर्किने इच्छा आकाङ्क्षाका साथ । फुटबल खेल्दा फुटबल मैदानमै खेल्ने । बाहिर किन खेल्ने ? फुटसलमा फुटबल खेल्न मजा पनि आउँदैन । फुटबल मैदानमै खेल्ने इच्छा उद्देश्यका साथ म त्यता फर्किनलाई राजीनामा गरेको छु ।’

उनले आफूले समयको मागअनुसार निर्णय गरेको पनि दाबी गरे। प्रधानमन्त्री केपी ओली सँगसँगै जस्तो आफू महान्यायाधिवक्ताको पदको जिम्मेवारी लिएको स्मरण गर्दै उनले समयले बजाएको घण्टीलाई आफूले सुनेर सम्बोधन गरेको टिप्पणी गरे। उनले भने, ‘कहिलेकाहीँ समयले घण्टी बजाएको मान्छेले बुझ्दैनन् । म चाँहि बुझ्छु कि भन्ने ठान्छु । समयले घण्टी बजाएपछि त्यो आवाजलाई बुझ्नसक्नुपर्छ र त्यसलाई पढ्न सक्नुपर्छ ।’

उनले तीन वर्षे आफ्नो कार्यकालमा महान्यायाधिवक्ताको कार्यालयबाट भए गरेका कामहरू उल्लेख गर्दै आफूले ठिक ढङ्गले जिम्मेवारी पूरा गरेको स्पष्ट पारे। संविधान र कानुन बमोजिम महान्यायाधिवक्ताको कार्यालयले अगाडि बढाउनुपर्ने कामहरूको पनि उहाँले फेहरिस्त राखे।

मुद्दाको अनुसन्धान गर्ने सवालमा अनुसन्धान र अभियोजनलाई स्वायत्तता दिने काम भएको, महान्यायाधिवक्ताले पनि हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारे। महान्यायाधिवक्ताले संविधान बमोजिम आफ्नो अधिकार प्रत्यायोजन गरिसकेपछि सम्बन्धित सरकारी वकिलले स्वायत्त र स्वतन्त्र ढङ्गले मुद्दाको अभियोजन गर्ने कुरामा पर्याप्त सतर्कता लिइएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्