-रुद्रहरी पोखरेल
वातावरणको सुरक्षा सबैको पहिलो शर्त बन्नुपर्ने एक्काइसौं शताब्दीको मुख्य आवश्यकता बनेको छ।मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीब्र दोहन, जनचेतनाको अभाव, वातावरण संरक्षणको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वयको कमी जस्ता असन्तुलित मानविय व्यवहारको कारण दिनप्रतिदिन वातावरण प्रदुषण तिब्र गतिमा बढिरहेको छ।
विशेष गरी प्रमुख सहरहरु काठमाडौं, विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुर, महेन्द्रनगर, हेटौंडा, दाङ लगायतका क्षेत्रमा खराब मौसम, आगोबाल्दा निस्कने धुँवा, डढेलो, सवारी प्रदुषण, औद्योगिक प्रदूषण जस्ता कारणले वातावरणमा प्रतिकुल प्रवाभ पारिरहेको छ।
प्रदूषणकै कारणले काठमाडौंको वायुको गुणस्तर गएको केही दिन यता ’जोखिमपूर्ण’ बिन्दुमा पुगेको छ (नेपाल सरकारले निर्धारण गरेको (AQI )pm2.5 “३००” भन्दा माथि पुग्नुलाई जोखिम मानिन्छ, केही दिन यता उच्च ४२८ बाट शनिबार ३८२ मा छ)। यो तथ्यले काठमाडौ विश्वकै सबैभन्दा प्रदूषित सहर मध्यको एक सिर्ष स्थानमा परेको देखाउछ।
यो विवरणले स्वास्थ मापदण्ड भन्दापनी पदूषणको तह माथी रहेको बताउछ। चिसो घाम तथा हावा नलागेर वायुमण्डलमा भएका धुवा तथा धुलोको कणहरु पृथ्वीको सतहको नजिक आएर पछिल्लो केहिदिन यता वायु को गुणस्तरमा २००% भन्दा बढिले खराबी देखिएको छ,यो मानव जिवनमा विपतको अवस्था हो।
धुलोको कर्णहरु बोकेको गह्रौ हावा तल र तातो हलुका हावा माथि हँुदा यस्तो अवस्था हुने गर्छ। पश्चिमी बायुको प्रभाव सक्रिय भएर पानी पर्ने हो भने प्रदुषण केही हदसम्म कम हुने वातावरण विद्हरुको भनाइ छ।
काठमाडौंको आकाशमा तुवालोमा हावाको कण मिसिएर रहेको विषाप्तले गर्दा अँखा पोल्ने, खोकी लाग्ने, चिलाउने लगायत अन्य मानसिक र शारीरिक समस्या देखा परेका छन्। प्रदुषणको कारणले मुटु, कलेजो, फोक्सो, मस्तिष्कमा समेत दीर्घकालीन समस्या देखिन सक्ने विज्ञहरुको भनाइ छ।
अब पनि यहाँको प्रदूषण नियन्त्रण गर्न ध्यान नदिने हो भने जीवजन्तुहरू लोप हुने तथा औषत आयु घटने निश्चित छ। वातावरण रहे मात्र हामी बाँच्न सक्छौं भन्ने कुरालाई ध्यान दिएर वातावरण प्रदुषण प्रती सचेत हुन जरुरी छ। वातावरण प्रदूषण नियन्त्रणको गर्न सबै नागरिक सचेत हुन आवश्यक छ।
विशेषगरि औद्योगिकीकरण तथा सहरीकरण गर्दा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने, क्लोरोफ्लोरो कार्बन र मिथेन जस्ता विषालु ग्याँसहरूको उत्पादनमा रोक लगाउनुपर्ने, किटनाशक औषधी र रसायनहरूको प्रयोग कम गर्दै जानुपर्ने र यातायातका साधनहरूको प्रदूषण कम गर्दै जानुपर्ने देखिन्छ। यति मात्र होइन, वातावरणीय शिक्षाको व्यापक प्रचार–प्रसार गरी जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ। मानव स्वास्थ्यको रक्षा र वातावरण संरक्षण प्रत्येक राज्यको दायित्व भएकोले बेलैमा सम्वन्धीत पक्षको ध्यान जान जरुरी छ।
लेखक पोखरेल अमृत क्याम्पस (अस्कल)का वातावरण संकायका विद्यार्थी हुन्।