“सहकारी दिवस र अबको हाम्रो कार्यभार”

Ramchandra_Sharma
  • 389
    Shares
लोकपाटी न्यूज

– रामचन्द्र शर्मा

एक लागि सबै सबैका लागि एक भन्ने एकीकृत भावना र मान्यता बोकेको प्रमुख क्षेत्र सहकारी हो। यसले समानता र बितरणको अवधारणामा शोषणरहित लोकतान्त्रिक समाजको कल्पना गर्दछ। मानिसहरुले लोकतन्त्रको भरपुर उपयोग र सुविधा त्यो बेला अनुभव गर्दछन्, जुन बेला उनीहरुको हातमा पूँजी र उद्यम भएको हुन्छ। आजको हाम्रो समाज कानूनतः अधिकारले सुसज्जित छ। तर व्यवहारमा त्यत्तिकै उत्पीडित भइरहेको अवस्था छ।

नेपालको सहकारी आन्दोलनको लामो इतिहासले सैदान्तिक मान्यताहरुलाई स्थापित गर्‍यो, व्यवस्थित गर्‍यो, आन्दोलनको एउटा चरण पार गर्न सफल भएको छ। लगभग जनसंख्याको एक चौथाई मानिसहरु प्रत्यक्ष यस आन्दोलनको उपयोगमा रहनु सामान्य परिघटना होइन। महत्वपूर्ण कुरा अब के बुझ्नुपर्छ भने आन्दोलन सफल बनाउनु ठूलो कुरा हो। तर त्योभन्दा पनि ठूलो कुरा सफल आन्दोलनलाई परिणाममुखी सदस्यमुखी बनाउनु हो, जसले आर्थिक रुपान्तरणको तीब्र माग र अभिष्टलाई सम्बोधन गर्न सक्नुपर्दछ।

प्राप्त उपलब्धी सम्बर्धन गर्दै यसबाट फूल फुलाउने कुराको प्रवद्र्धन गरेर मात्र सहकारीकर्मीको आर्थिक स्तरमा परिवर्तन ल्याउन लाग्नुपर्दछ। हिजोको संगठन हिजोको विधि र जडतामा अल्झिएर सहकारी आन्दोलनको मर्मलाई बुझ्न सकिँदैन। तसर्थ समयक्रम र इतिहासको माग, इच्छा र चाहनाहरुलाई सम्बोधन गर्नका लागि अबको सहकारी उत्पादनसहितको सहकारी हुनु जरुरी देखिएको छ।

उत्पादनका साधनहरुमा सहकारी र तिनको सदस्यहरुको पहुँच स्थापित हुनु नै सहकारीले कल्पना गरेको शोषणरहित समुदाय बनाउने आदर्शले गन्तव्य भेटाउनु हो भनेर बुझ्नुपर्दछ। तसर्थ सहकारीहरुका आ-आफ्ना प्रकृतिका विषयगत र केन्द्रीत संगठनहरु छन्, तिनीहरुलाई निरन्तर सम्मान र प्रर्वद्धन गर्नुपर्ने जरुरी एकातिर छ। साथसाथै सहकारी क्षेत्रलाई विशुद्ध उत्पादन आन्दोलनसँग जोड्नुपर्ने अपरिहार्यता देखिएको छ। यसलाई अझ बढी प्रर्वद्धन गर्नुपर्ने प्रमुख कार्यभार सहकारी क्षेत्रको काँधमा आएको कुरालाई गम्भीर विश्लेषण विवेचना गर्दै अगाडि बढ्नुपर्दछ।

उत्पादन विनाको सहकारी पानी विनाको मछली हो, किनकि पानी विना केही घण्टा मछली तड्पिएर पनि बाँचेको हुन्छ। अन्ततः त्यसको अन्त पनि त्यसरी नै भएकै हुन्छ। आजको सहकारी पनि त्यही रुपमा तड्पिएर बाँचेको छ। तर सदस्यको जीवनस्तर परिवर्तन नगरी कोरा आदर्शमा टेकेर मात्र अगाडि बढ्न खोज्नु समाप्ति र विध्वंशको बाटो हुने निश्चित हो। यस सत्यता र मान्यतालाई आत्मसाथ गर्दै उत्पादनलाई सम्वर्धन र प्रर्वद्धन गर्न सक्ने संगठनको जरुरत देखिएको छ।

सहकारीको विकासका लागि ति संस्थाहरुको ब्रेन अध्यक्षहरु र टाउको पदाधिकारी एवं सञ्चालकहरुको सघन सहभागिता र सक्रियता जरुरी छ। नीति निर्माण तहमा प्रभावशाली भूमिका हुन जरुरी छ। यसको अभावमा नै आज सहकारी आन्दोलन गलत ट्रयाकमा गएको छ।

उधम बिनाको सहकारी उत्पादन बिनाको सहकारी अध्यक्षहरुको सघन नियन्त्रण बिनाको सहकारी वास्तविक सहकारी आन्दोलन बन्नै सक्दैन। स्वार्थ र पेशेवर आम्दानीका लागि सहकारीमा काम गर्नु कुनै सहकारी अभियान हुने सक्दैन। कार्यकारी र व्यवस्थापकहरुको काम सहकारीलाई व्यवस्थित र मर्यादित एवं प्रतिफलमुखी बनाउनुसँग मात्र रहनुपर्दछ।

संस्थाको नीति कार्यान्वयन गर्न सञ्चालक र सदस्यबिच वैज्ञानिक उपयोगिता नीति अनुशरण गरेर सहकारीको कर्पोरेट विकास गर्नुसँग मात्र सरोकार राख्नुपर्दछ। न कि सहकारी अभियानको नै नेता बन्न खोज्नु हो। व्यवस्थापन पक्षलाई नेता बनाउन खोज्नु सहकारी अभियानलाई भड्खालोमा हाल्नुसिवाय केही पनि हुन सक्दैन। यसलाई गम्भीर रुपमा विवेचना गर्न जरुरत भइसकेको छ। यसर्थ सहकारीका अध्यक्षहरुको प्रमुख नेतृत्व रहिरहने र पदाधिकारी सञ्चालकहरु साथै सदस्यहरुको समेत सघन सहभागिता रहने सुनिश्चिततासहित कर्पोरेट कोअपरेटिभ संगठन अनिवार्यता देखिएको छ।्

संगठनको प्रमुख उदेश्य कोअपरेटिभहरु बिचको साझेदारीलाई कर्पोरेटरुपमा अभिव्यक्त र सम्पादन गर्नुसँग केन्द्रित हुन्छ। यसमार्फत उत्पादन अभियानको इभेन्ट मेनेजमेन्ट गर्ने, सहकारीका भावनाका मान्यता र यसका प्रतीकलाई उन्नतस्तरको उत्पादन दिने प्रशोधन मेशिन बन्न तयार हुन्छ र सोमार्फत् उत्पादन परिणममा ट्रान्सफरमेशन दिने मुख्य कुञ्जीको रुपमा नेतृत्वदायी भूमिका खेल्नुपर्दछ। यसको आदर्श नै सहकारीहरुको पूँजी सहकारीहरुबिच साझेदारी, सदस्य र सहकारीहरुबिच साझेदारी गराउने, सहकारी, सदस्य र नीजी क्षेत्रबिच साझेदारी गराउने सहकारी नीजि र अन्य आर्थिक क्षेत्रहरुको संयुक्त उद्यमका लागि सहकारी क्षेत्रलाई प्रमुख नेतृत्व समूहमा रुपान्तरण गरेर अगाडि बढ्ने र सदस्यहरुको आर्थिक परिवर्तन र स्वतन्त्रताको जग बसाउनु हो। यसमा नै केन्द्रीत रहने गरी कार्यक्रम, योजना, नीति र सिद्धान्तको प्रस्तावना गर्नु आजको सहकारी आन्दोलन र भविष्यको अपरिहार्यता हुनुपर्दछ।

सदस्यहरुसँग सहयोग र सदस्यता, सहकारीका अध्यक्षहरुलाई कर्पोरेट संयोजन गर्ने, बहस गर्ने र त्यही बलमा औद्योगिक पूँजीको रुपमा सहकारीहरुलाई अगाडि बढाउन प्राविधिक मद्दत गर्ने, इभेन्ट म्यानेज्मेन्ट गर्ने, सहकारीहरुको साझेदारीमार्फत् उद्यमहरुको प्रर्वद्धन गर्ने र आवश्यक पूँजीका लागि अन्य आर्थिक क्षेत्रसँग संयुक्त उद्यमका लागि तयारी हालतमा राखेर सहकारीहरुलाई औद्योगिक आन्दोलनको अभिन्न आधारशीलता दिने गरी नेतृत्व प्रदान गर्नु रहेको छ। यसले आफैँ पूँजी निर्माण गर्ने होइन। पूँजी निर्माण गरी उत्पादनका लागि वातावरण बनाइदिने र व्यवसायिक इभेन्टको व्यवस्थापन कर्पोरेट ढङ्गले गर्ने गरी अभिवावकीय भूमिका खेल्नुपर्दछ।

औचित्य

औद्योगिक विकास र कर्पोरेट पहलकदमीका लागि सामान्य अवधारणा र छिसमिस सारसग्रह प्रकृतिको संगठन र विचारले कार्य गर्ने सम्भव छैन। सहकारीसँग सम्बन्धित विषयगत संघ संगठनहरुको आफ्नै खालको महत्व छ। तिनीहरुले आफ््नो कर्तव्यलाई त्यही लाइनमा मात्र विकसित र परिस्कृत गर्ने सम्भव छ। निजहरुलाई सदा सर्वथा सम्मान सहयोग गर्दै अगाडि बढ्ने कुरा महत्वपूर्ण हुन्छ।

सहकारी, सिद्धान्त, मान्यता र आदर्शको क्षेत्रमा खेलेका ती संगठनहरुको भावनालाई ठोस रुपमा सम्बोधन गरी परिणम दिने कामको लागि कर्पोरेट गर्भनेन्स दिने संगठनको खाँचो भइसकेको छ। कर्पोरेट गर्भनेन्स, सोही प्रकृतिको संगठन र विचार विना सम्भव हुँदैन। चाहनाले मात्र रोमान्समा उद्योगधन्दामा लगानी गरेर मात्र हुँदैन, यसको सम्पादन र व्यवस्थापन साथसाथै कर्पोरेट संस्कृति र मुनाफाको सुनिश्चितता प्रमुख कार्य रहने गरी सहकारी आन्दोलनलाई सामाजिक उत्पादन आन्दोलनसँग जोडी हाल्नुपर्दछ। जसले मात्र हरेक विषयवस्तुलाई जीवन्त बनाउन सक्दछ।

वास्तविक रुपमा सहकारीलाई उत्पादन आन्दोलनको पर्यायवाची बनाउन सकिन्छ भन्ने कुरा अब बुझ्न ढिला गर्नु हुँदैन। आर्थिक उपार्जनविना कसैको जीवन संस्थागत हुनै सक्दैन। यसको औचित्य सहकारीहरुको गुणत्मक विकासका लागि अध्यक्षहरुको आत्मबल, शिक्षाको प्रर्वद्धन र सर्वद्धन गर्नुसँग मात्र जोडिएको छ। जसले सहकारीहरुलाई उत्पादनको कार्यदिशा दिन सक्दछ। अन्तरीक्षमा जानका लागि जहाजले हुँदैन, रकेट यानको जरुरत पर्दछ।

आजभोलिको सहकारी आन्दोलन एक कर्पोरेट उद्यम आन्दोलनको हिमायती बन्नैपर्ने युगले सुम्पेको कार्यकार हो। यसले अगाडि बढाएका कदम अन्तरीक्ष अभियानभन्दा कम चुनौतिपूर्ण छैन भन्ने बुझ्नुपर्दछ। यो कार्य जहाजमा सफर गरेर पार गरिँदैन। जसका लागि गन्तव्यमा पुग्ने साधन चाहिन्छ। भोलिको सहकारी उद्यम आन्दोलनलाई गन्तव्यमा पुर्‍याउने यान बनाउन र यसमा सफर गरेर अगाडि बढ्ने आँट गर्नु, सोहीअनुसारको यान बनाउन अनुसन्धान गर्नु, निर्माणका लागि लगानी गर्नु र जनशक्तिहरुको व्यवस्थापन गर्नुपर्ने औचित्य अझ बढी बढेर गएको छ। “समृद्ध नेपाल सुखी नेपालीको” राष्ट्रिय आकाङ्क्षा औद्योगिक र उद्यम अभियानको विकास विना कदापि सम्भव छैन।

उद्यम आन्दोलन सहकारीसँग जोडिएका १० औं लाख सदस्यहरुको सशक्तिकरण र सहभागीताविना अगाडि बढ्नै सक्दैन। सशक्तिकरण र सहभागिता त्यही प्रकृतिको अपिल गर्नसक्ने कर्पोरेट संगठन विना सम्भव हुँदैन भन्ने निष्कर्षमा पुगेर नयाँ बाटो हिड्न हिम्मत गर्नुपर्दछ। ठूलाठूला पूर्वाधारका लागि नेपालजस्तो मुलूकमा आर्थिक र लगानीको प्रवर्धन गर्ने मुद्दा लगानीको सुरक्षा एवं पारदर्शिता सधैँ अगाडि आउँछन्। यसको मुख्य कारण औद्यौगिक र कर्पेारेट संस्कृतिको विकास नभएकोले हो भन्ने ठम्माइका साथ कर्पोरेट लगानीको संथागत नेतृत्व रहने गरी उद्यमहरुको प्रवर्धन र सम्वर्धन र चीरकालसम्म उपयोगको पर्फेमेन्स र मुनाफाको वितरणको आधारको सघन संयोजन र आयोजन नयाँ बाटोबाटमार्फत् सम्भव छ। आर्थिक उपार्जनविनाका सारा कुरा भ्रम हुन् भन्ने मूल मान्यता बुझेर बढ्नु नै सहकारीमार्फत् सामाजिक आर्थिक रुपान्रण गर्न सकिन्छ भन्ने तागत पैदा हुनु हो। जसले समृद्द र सुखी नेपाली बनाउने अभियानमा ठोस मद्दत गर्न सक्छ।

सहकारी संस्थाबिचको सम्बन्ध

सहकारीसँग सम्बन्धित विषयगत संघ संगठन र अन्य पेशागत संगठनहरुसँगको सम्वन्ध अत्यन्तै मैत्रीपूर्ण सम्बन्ध रहनुपर्दछ। सहकारी संघ संस्थाले उठाएका.उन्नति र आर्थिक प्रगतिका मुद्दाहरु र उत्पादनको ठोस व्यवस्थापन र परिचालनको आधारशिला दिने गरी नेतृत्व दिने कार्य रहनुपर्दछ। संघ संस्थाहरुलाई आदर्श र सम्पत्तिको रुपमा ग्रहण गरी तिनीहरुको समृद्धि र व्यवस्थित गतिविधिले मात्र सहकारी क्षेत्रको नीतिगत नेतृत्व स्थापित हुन्छ भन्ने कुरामा प्रष्ट हुनुपर्दछ। अन्य संघसंस्था, सहकारी र नीजि सार्वजनिक क्षेत्रसँग कन्सेप्ट डिल गर्ने कार्यका लागि अगाडि बढाउने र सबै पक्षसँग सम्बन्ध समधुर बनाएर देशलाई उत्पादन क्रान्तिको आधारभूमि बनाउने गरी दीर्घकालीन आर्थिक युद्धको नेतृत्व गर्नु यसको प्रमुख कार्यभार हुनुपर्दछ। यसर्थ, सहकारी नीतिभित्रको प्रमुख सुचालक संगठनको रुपमा आपसमा सम्बन्ध बिस्तार गर्नुपर्दछ भन्ने दृष्टिकोण हुनुपर्दछ।

कार्यदिशा

सहकारीहरुलाई उत्पादनका लागि तयारी गर्नका लागि परिस्थिति अनुकूल बनाउने गरी फेसिलेटेड गर्न कार्य अगाडि बढाउनुपर्दछ। राज्यसँग सहकारी र अन्य पक्षको लगानीको सुरक्षा र मुनाफाको सुनिश्चितताका लागि, दुईपक्षीय लगानी प्रर्वधन तथा सम्वर्धन समझदारी गरेर लगानीको वस्तुगत परिस्थिति निर्माण गर्ने कार्य बढाउनुपर्दछ।

प्रस्तावित परियोजना सहकारीका सदस्यहरुको बिचमा साझेदारी, सहकारीहरुबिच साझेदारी, विशिष्टिकृत संघमार्फत् बृहत साझेदारी र सहकारी निजी र अन्य पक्षहरुको साझेदारीमा बृहत्तर कर्पोरेट सयुंक्त उद्यमको कार्यदिशा तय गरिनुपर्दछ। यसका लागि कानूनलाई समेत अनुकुल गरिदिनका लागि नेपाल सरकार र निकायलाई आग्रह गर्दै परियोजना निर्माण पनि गर्दै अनुकूल वातावरणको पहलकदमी लिने कार्यदिशाको बाटोमा अगाडि बढ्नुपर्दछ।

लगानी र आन्दानीको समन्वय

लगानी–आम्दानी–पुनर्लगानी–नियमित आम्दानी वृद्धि–लगानी र व्यवस्थापनको मोडेलमा रहनेछ। यसको अर्थ यो हुन्छ कि परियोजना गर्दा आंशिक रुपमा परियोजनाका अंशहरु सञ्चालन गर्ने, आम्दानी गर्ने, मनोबल बढाउने, पुनर्लगानी थप्दै जाने र बृहत लगानीको बाटोमार्फत् ठूलठूला परियोजनाको समापन र सञ्चालन गर्ने। जोखिमरहित लगानीको अवस्था सिर्जना गरेर सहकारी उत्पादन र लगानी अभियान अगाडि बढ्नुपर्दछ। त्योअनुसार अगाडि बढ्दछ।

७ वर्षभन्दा बढी लगानीको रिकभरी समय लाग्ने गरी परियोजनाको प्रस्तावना गर्ने नीति रहने छैन हुनु हुँदैन। इक्युटी सहकारी क्षेत्रको सकभर समानताको आधारमा लगानी गर्नु वान्छनीय हुन्छ। यसो हुन सकेन भने इच्छाअनुसार लगानीको पोर्टफोलियो व्यवस्थापन गर्ने तयारी रहनुपर्दछ र परियोजना तयार गर्नुपर्दछ।

परियोजनाका लागि ‘‘विस्तृत परियोजना प्रतिवेदन’’ म्एच् निर्माण गर्नका लागि निजी तथा कर्पोरेट क्षेत्रसँग साझेदारी गर्ने गरी समझदारी गर्न सकिन्छ। उत्पादनमूलक उद्योगका लागि सहकारीहरु नै प्रवद्र्धक रहेर निजहरुको नेतृत्वमा नै उद्योगहरुको सञ्चालन गर्नुपर्दछ। सोही नीति नै प्राकृतिक न्यायको सिद्धान्त एवं शक्ति पृथकीकरणको व्यवस्थापकीय मोडेल हुन सक्दछ भन्ने मान्यता बोक्नुपर्दछ। उप्पादन प्रबर्धन गर्ने संगठन विशुद्ध नियमन निकायको रुपमा रहेर अभिभावकीय भूमिकामा लगानीको सम्वर्धन र प्रवर्धन गर्ने कार्यमा केन्द्रीत हुन सक्ने हो भने वास्तविक रुपमा सहकारी औधोगिक आन्दोलनको शंखघोष गर्न सकिन्छ।

निष्कर्ष,

एकपटक संकीर्णताबाट माथि उठेर विकास र समृद्दिका लागि सहकारी आन्दोलनलाई उत्पादन आन्दोलनको रुपमा रुपान्तरण गर्दा अरबौ पूँजीको प्रवर्धन गर्ने सकिन्छ भने १०औँ हजार प्रत्यक्ष रोजगारी र १० औँ हजार नै स्वव्यवसायको आधार खडा गर्न सकिन्छ। यस्तो कदमले समग्र सहकारी उत्पादनको किल्लाको रुपमा संसारभरि प्रख्याती कमाउँछ। यसका ग्राहक तथा उपभोक्तासमेत सहकारी क्षेत्रका व्यक्तिहरुले स्थान लिँदा प्राप्त व्यापारको सम्भावना देखिएको छ। तसर्थ उद्यम र धन्दा विना समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुँदैन भन्ने निचोडको साथ राष्ट्रिय उत्पादन आन्दोलनको दीर्घकालीन बाटो तय गरिनुपर्दछ।

यही आजको आवश्यकता र अपरिहार्यता हो। सहकारीका अध्यक्षहरु– सहकारीकर्मी र सहकारी संस्थाहरुको प्रमुख कार्यभार हो। युगले सुम्पिएको दायित्व हो भन्ने गम्भीर विचार विवेचना गरेर अगाडि बढ्नुपर्दछ। यसबाट मात्र देश जनता र सबै क्षेत्रको मुक्ति सम्भव हुन सक्छ। वर्तमान सहकारी दिवसले यस बाटोलाई बहस सुरु गरोस्, शुभकामना !

(लेखक शर्मा कोप्स सेन्टरका महासचिव हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्