बैतडीमा फलाम खानीको उत्खनन् शुरु

लोकपाटी न्यूज

काठमाडाैँ। बैतडीको सिगास गाउँपालिकामा भेटिएको फलाम खानीको उत्खनन् शुरु गरिएको छ। गाउँपालिकाको वडा नं. १ सुगरखालमा खानी भेटिएसँगै उत्खनन् पनि शुरु गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। उनले चैत्र ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको बताए। उनले उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको र अध्ययनपश्चात् फलाम खानी रहेको देखिएकोले उत्खनन् थालिएको जानकारी दिए।

अध्यक्ष धामीका अनुसार अहिले फलाम खानी भेटिएको ठाँउसम्म सडक लैजाने काम भइरहेको छ। खानीसम्म पुग्न बृन्दाबनबाट करिब डेढ किलोमिटर सडक खन्ने काम चलिरहेको उनले बताए। सुभम मिनरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको धामीले बताए। सुभम मिनरल्सले परीक्षणकालमा मात्रै करिब ८० प्रतिशत ढुंगामा फलाम भेटिएको बताएको छ भने उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिस लिएर काम थालिएको कम्पनीले जनाएको छ।

चीनबाट आएको विज्ञ टोलीले खानी उत्खनन् थालेको अध्यक्ष धामीले बताएका छन्। फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयहरुले रोजगारीसमेत पाउने अपेक्षा गरिएको छ। खानी भेटिएको स्थानमा ३३ केभी विद्युत प्रसारण लाइन,खानेपानीलगायतका आधारभूत सेवा पुर्याउने काम पनि भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्