पर्यटन आगमनमा सुधार, सबैभन्दा धेरै पर्यटक सार्क मुलुकका

लोकपाटी न्यूज

काठमाडौ। पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारण ठप्प रहेको पर्यटन उद्धयाेग सुधारान्मुख देखिएको छ। सरकारले क्वारेन्टाइनको व्यवस्थामा खुकुलो नीति लिनुको साथै वसन्त ऋतुको सुरुवातले पनि मुलुकमा पर्यटक आगमनमा सुधार देखिन थालेको हो। हरेक बर्ष मार्च, अप्रलि, मे सेप्टेम्बर नेभेम्बरलाई नेपालमा पर्यटनको सिजन भनिन्छ।

मार्च महीनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन्। यीध्ये ५ देशबाट सबैभन्दा धेरै पर्यटक भित्रिएका छन्। यद्यपि नेपालमा अहिले ३३ देशका पर्यटक आइसकेका छन्। नेपाल पर्यटन बोर्डले २०१९ पछि २०२१ को यो सिजनमा बढी पर्यटक भित्रिएका बताएको छ। पर्यटन बर्ष मनाउने भनेर तयारी थालिएको सन्२०२० को यो सिजनमा भने कोरोना भाइरस र लकडाउनका कारण पर्यटक आगमन शून्य थियो।

मार्चमा भारतबाट ७ हजार ६५८ पर्यटक नेपाल आएका छन्। यसैगरी अमेरिका, चीन, बेलायत र जर्मनीबाट सबैभन्दा बढी पर्यटक नेपाल आएका छन्। याे महीनामा सार्क मुलुकमध्ये भारतबाट सबैभन्दा बढी पर्यटक नेपालमा आएका हुन्। याे सिजनमा हिमाल आरोहण तथा ट्रेकिङका लागि पर्यटकहरू बढी आउने गर्छन्। बढी खर्च गर्ने मानिएका यूरोपेली महाद्वीपका १६ देशका १ हजार ७९० जना पर्यटक नेपाल आएका छन्। तीमध्ये जर्मनी, फ्रान्स, रसिया, बेल्जियम, नेदरल्यान्डबाट धेरै पर्यटक आएका छन्। क्यानडा र अमेरिकाबाट भने १ हजार ८३१ जना आएका छन्।

एशियाका चीनसहित ८ देशबाट १ हजार ५७० जना पर्यटक नेपाल आएका छन्। नेपालमा सार्क मुलुकबाट ८ हजार ८० जना पर्यटक आएका छन्। यसमध्ये भारतपछि बंगलादेशबाट ५६८ जना पर्यटक नेपाल आएका छन्। पर्यटक संख्यामा सार्क मुलुकको अंशमध्ये ५५ दशमलव ९५ प्रतिशत रहेको छ।

पर्यटन विभागले वसन्त सिजनको सगरमाथा आरोहण गर्ने ९ दलबाट १०० जनालाई अनुमति जारी गरिदिएको छ। यो सिजन शुरू भएयता शुक्रवारसम्म सगरमाथा आरोहणका लागि उनीहरूले अनुमति लिएका हुन्। हालसम्म सातओटा हिमाल तथा पिक आरोहणका लागि २० ओेटा दलबाट १७३ जनाले अनुमति लिइसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्