फेरि लकडाउन हुँदैन, आतंकित नबनौं : स्वास्थ्यमन्त्री

Hirdesh_Tripathi_Hridayesh
  • 237
    Shares
लोकपाटी न्यूज

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ कार्यक्रममा मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने बताएका हुन्।

उनले लकडाउन भन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए। लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनको भनाइ छ।

‘हामी यो चाहँदैनौं कि नेपाल फेरिपनि लकडाउनको अवस्थामा जाओस्। लकडाउनभन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरू छन्। सरकार ती सबै कदमहरू चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ। किनभने लकडाउनले जनजीविकालाई पार्ने प्रभाव, समाजलाई पार्ने प्रभाव, अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव दीर्घकालिन रुपको हुने रहेछ,’ उनले भने।

मन्त्री त्रिपाठीले छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण सुरु गरेको पनि जानकारी दिए। यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै उनले कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे।

उनले ने ‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं। तर एउटा कुरा म यहाँहरुलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन। आतंकित हुनु भनेको यो संक्रमणलाई झन् थप्नु हो। सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नुहुँदैन।’

मन्त्री त्रिपाठीले अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोपहरू प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिएर प्रचलनमा ल्याएको बताए। उनले चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड-१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि सुरु हुनेपनि जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्