सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुगेको छैन : सर्वोच्च बार

Nahakul-subedi
  • 27
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेको जनाएको छ। उक्त विषयमा गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाइ समितिलाई ज्ञापन पत्र बुझाएको हो।

सुवेदीको योग्यता नपुगेको भन्दै समितिमा उजुरी समेत परेको छ। न्याय परिषद्ले २८ फागुनमा सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो।

अब उनीहरुको संसदीय सुनुवाइ गर्ने तयारी छ। बुधबार बसेको सर्वोच्च बारको सल्लाहकार समितिको बैठकले पनि सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुगेको भन्दै सुनुवाइ समितिको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएको थियो । त्यसअनुसार सर्वोच्च बारले शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र बुझाएको छ।

सुवेदीको संविधानको धारा १२९ को उपधारा ५ अनुसार योग्यता नपुगेको र संविधानको मर्म र भावना विपरीत उनको नाम सिफारिस भएको भन्दै सर्वोच्च बारले यसप्रति गम्भीर हुन आग्रह गरेको छ।
सुवेदीको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा पनि मुद्दा परेको छ। ३० चैतमा यसबारेमा फैसला आउँदैछ।