जसपालाई फकाउँदै कांग्रेस–माओवादी केन्द्र

jasapa-congress-mawo
  • 34
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई फकाउने कसरत जारी राखेको छ। तर, जनता समाजवादी पार्टी भने केपी शर्मा ओली नेतृत्वको सरकारलाई तत्काल विस्थापित गर्ने पक्षमा देखिएको छैन। जसपा अनिर्णित हँुदा नयाँ सरकार बनाउने कांग्रेसको योजना तत्काल पूरा हुन कठिन भएको छ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपासहितको संयुक्त बैठकमार्फत कांग्रेसले जसपालाई सत्ता सहकार्यको औपचारिक प्रस्ताव गरे पनि जसपाले कुनै निर्णय दिएन। जसपाले निर्णय नदिँदा कांग्रेसको तत्काल नयाँ सरकार बनाउने योजना पर सरेको हो।

नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रले भने कांग्रेसलाई सहमती दिँदै आइरहेको छ। शुक्रबारको बैठकमा कांग्रेस सभापति देउवाले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पार्टीले निर्णय गरिसकेको भन्दै माओवादी र जसपालाई समेत निर्णयबारे जानकारी गराएका थिए।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपालाई विधिवत रूपमा नयाँ सरकार गठनका लागि सहकार्य प्रस्ताव गरिएको जानकारी दिए। उनले आफ्नो दलको प्रस्तावमा जसपा सकरात्मक रहेको तर आन्तरिक छलफलपछि टुंगोमा पुग्ने जसपाको जवाफ रहेको बताए।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जसपा नेता महन्थ ठाकुरले जसपालाई पहिलोपटक नयाँ सरकारका लागि सहकार्यको प्रस्ताव आएको र आन्तरिक छलफलपछि निर्णय दिने जानकारी गराएको बताए।

‘पहिलोपटक नयाँ सरकार गठनका लागि प्रस्ताव आएको छ, अब हामी आन्तरिक छलफल गरेर थप निर्णय गर्छौं,’ जसपा नेता ठाकुरले भने। तीन दलीय बैठकमा जसपाले कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग संविधान संशोधन, जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ, आफ्ना नेता कार्यकर्तामाथि लगाइँदै आइरहेको झुटा मुद्दा खारेजी, नागरिकता समस्याको समाधानलगायतका मागबारे जानकारी गराएका थिए ।

सो प्रस्तावमा कांग्रेसले भने प्रधानमन्त्री ओलीले जसपाका मागमा गर्न सक्ने सम्बोधन कांग्रेसले पनि गर्न सक्ने भन्दै धेरै चिन्ता नलिन जवाफ दिएका थिए । देउवाले संविधान संशोधनका विषयमा प्रधानमन्त्री ओलीको दल एमालेभन्दा पहिलेबाट नै कांग्रेस बढी लचक रहँदै आएकोसमेत जसपालाई जवाफ दिएका छन्। राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्