नेपाल पत्रकार महासंघमा पोखरेल नेतृत्वको प्यानल विजयी

nfj-election-pic
  • 290
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन्। चैत २५ गते भएको मतदानको मतगणना आज सकिएको हो। मतगणना सकिए पनि केही जिल्लाको मत आउन बाँकी हुँदा निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन।

निर्वाचन समितिले साँझ औपचारिक घोषणा गर्ने बताए पनि निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मा भन्दा २१ सय बढी मत पाएको भन्दै पोखरेल समर्थकले विजयी उत्सव मनाएका छन्। प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीसहितले पोखरेल नेतृत्वमा गठबन्धन गरेको थियो। पोखरेल नेतृत्वको गठबन्धन प्यानल नै विजयी भएको हो।

अध्यक्षमा पोखरेल विजयी हुँदा उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन्। महिला उपाध्यक्षमा बाला अधिकारी र समावेसी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन्। रोशन पुरी महासंघको महासचिव बनेका छन् भने गोविन्दप्रसाद चौलागाई खुला सचिव बनेका छन्।

महिला सचिवमा सिर्जना अर्याल निर्वाचित भएकी छिन् भने आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु विजयी भएका छन्। मधेसी सचिवमा दीपेन्द्र चौहान विजयी हुँदा दलित सचिव हेमकर्ण विक बनेका छन्। एशोसिएट सचिव पवन आचार्य बनेका छन्। कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् भने लेखनाथ न्यौपाने लेखा समिति संयोजकमा विजयी भएका छन्। महासंघको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीमा भएको हो। चुनावमा १३ हजार बढी मतदाता थिए। निर्वाचन समितिका अनुसार ९५ प्रतिशत मत खसेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्