राप्रपा नेता रामबहादुर चलाउने नेपाली काँग्रेसमा प्रवेश

  • 1.1K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रामबहादुर चलाउने नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। शनिबारको देउवा निवासमा भएको एक कार्यक्रममा काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गरेका थिए। २०३६ सालदेखि राजनीतिमा सक्रिय चलाउनेलाई देउवाले औपचारिक रुपमा काँग्रेसको सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन्। २०४७ सालदेखि राप्रपामा रहेका चलाउने पूर्व जिल्ला बिकास समिति अछामका सदस्य रहनुका साथै २०७० सालको आमनिर्वाचनमा राप्रपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ बाट सांसदको उम्मेदवार समेत बनेका थिए।

तुर्माखाद गाउँपालिका वडा नम्बर ७ तोषी निवासी नेता चलाउने पूर्व शिक्षक पनि हुन्। शिक्षण पेशा छोडेपछि निरन्तर राजनीतिमै क्रियाशील छन् । चलाउनेले अबको सबै समय काँग्रेस पार्टीमा रहेर जनताका लागि सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। उक्त कार्यक्रममा अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रामबहादुर बिष्ट, नेपाली काँग्रेस अछामका पार्टी सभापति भरतकुमार स्वार, पूर्व महाधिवेशन प्रतिनिधि मानबहादुर रावल, क्षेत्रीय सभापति लक्ष्मण शाह लगायतको उपस्थिति रहेको थियो।