ओलीले एमालेलाई विभाजन गर्न खोजे : भीम रावल

Bhim_Rawal
लोकपाटी न्यूज
0 Shares

धनगढी। नेकपा एमालेका निलम्बित नेता डा. भीमबहादुर रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गरेको कारबाही अवैध भएको बताएका छन्। धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा रावलले अध्यक्ष ओलीले पार्टी विधानमै नभएको व्यवस्थालाई प्रयोग गरेर कारबाही गरेको बताएका हुन्।

‘अध्यक्ष ओली आफैँ अवैध अध्यक्ष हो,’ उनले भने, ‘अवैध अध्यक्षले मलाई गरेको कारबाही पनि अवैध हो।’ स्वयम ओलीले नवौँ राष्ट्रिय महाधिवेशनको म्यान्डेड र विधान विपरीत काम गरेकोले आफूमाथि गरिएको कारबाही स्वीकार गर्न नसकिने उनले बताए। रावलले ओलीले पार्टीलाई विभाजन र कम्युनिस्ट आन्दोलनलाई विसर्जनतर्फ लैजान खोजेको आरोप पनि लगाए।

‘केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा बैठक गरेर नेकपा एमालेलाई विभाजन गर्न खोज्नुभएको छ,’ रावलले भने, ‘त्यसैले कम्युनिस्ट आन्दोलनलाई पनि विसर्जनतर्फ लैजान खोजेको देखिन्छ। उहाँले राष्ट्रलाई पनि अफट्यारो दिशातिर लैजाने दुष्प्रयास गर्नुभएको छ।’ फागुन २८ को भेला पार्टीको नभएर गुटको भएको उनले बताए।

‘प्रधानमन्त्री स्वयमले बालुवाटारमा बोलाएर जनप्रतिनिधिलाई पदको लोभ देखाउने, धम्काउने र डराउने गरिरहनुभएको छ, भन्ने मैले सुनेको छु। त्यो निन्दनीय हो,’ रावलले भने। उनले एमालेलाई एक ढिक्का बनाउन देशभर सङ्गठन विस्तार गरिने बताए। सुदूरपश्चिमलगायत देशभर एमालेका जनवर्गीय संगठनहरूको विस्तार गरिने उनको भनाइ छ।

यस्तै पत्रकार सम्मेलनमा नेकपा (एमाले) सुदूरपश्चिमका अध्यक्ष कर्ण थापालाई कारबाही गर्न सिफारिस गरिएको पनि जानकारी दिइएको छ। पार्टी विभाजन गर्न संलग्न भएको, पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गरेकोले थापालाई पार्टीका सबै जिम्मेवारीबाट हटाउँदै पार्टी सदस्यताबाट एक वर्षका लागि निलम्बन गर्नसमेत सिफारिस गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्