तत्काल काङ्ग्रेस नेतृत्वमा सरकार बनाउन सम्भव नभएकाे जसपाकाे निश्कर्ष

Jasapa
फाइल तस्बिर
  • 653
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसको नेतृत्वमा सरकार बनाउन तत्काल सम्भव नभएको निश्कर्ष निकालेको छ। राजधानीमा आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको निश्कर्षमा पुगेका हुन्। कांग्रेसले शुक्रवार आफ्नो नेतृत्वमा सरकार बनाउन सहयाेगका लागी माओवादी केन्द्र र जसपासँग आग्रह गरेको थियो। माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएकाे थियाे तर जसपाले पार्टीमा छलफल गरेर निर्णय दिने बताएको थियो।

‘तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव छैन, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हामीहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएकोले सरकारसँगै हामी छलफल अघि बढाउछौ’ जसपाका एकजना नेताले भने। जसपाले लाल आयोगको प्रतिवेदन कार्यान्वयन तथा राजनीतिक आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेको छ।

जसपाका अर्का नेता लक्ष्मणलाल कर्ण आफूहरुका माग जसले पूरा गर्छ उसैसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताए। ‘जसले काम गछ, जसले हाम्रा माग पूरा गर्छ उसैलाई हाम्रो समर्थन रहन्छ, सरकारले हाम्रा माग पूरा गर्न गृहकार्य गरिसकेको छ’ कर्णले भने।

अध्यक्ष महन्थ ठाकुर, प्रभावाली नेता राजेन्द्र महतो लगायत जसपाका बहुसंख्यक नेताहरु ओली सरकारबाटै आफूहरुका माग पूरा गराउने पक्षमा छन्। अर्का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन्। यादव र बावुराम भट्टराई लगायतका नेताहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउने भन्दापनि आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको विषयमा पहल गर्नुपर्ने बताउँदै आएका छन्।

सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा राजपाको तर्फवाट कर्णको नेतृत्वमा वार्ता टोली गठन गरी पटक पटक अनौपचारिक छलफल भइसकेको छ । कतिपय प्रक्रियाका विषयमा छलफल बाकी रहेपनि जसपाका माग पूरा गर्नेबारे सरकारसँग सहमति नजिक पुगिएको ती नेताले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्