भारतले लगायाे रेमडेसिभिर औषधिको निर्यातमा रोक

लोकपाटी न्यूज

काठमाडौँ।  पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेसँगै भारत सरकारले रेमडेसिभिर औषधिको निर्यातमा रोक लगाएको छ। कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको निर्यातमा रोक लगाइएको समाचार संस्था पीटीआईले जनाएको छ। कोरोना संक्रमितमाथि रेमडेसिभरको औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ।

यसका साथै रेमडेसिभिर भएका एन्टिभाइरल इन्जेक्शन र यसको एक्टिभ फर्मास्युटिकल इन्ग्रिडिएट्स (एपीआई) को निर्यातमा पनि रोक लगाएको पीटीआईले जनाएको छ। कोरोना संक्रमण बढ्दै जाँदा उपचारका लागि आवश्यक औषधिको माग पनि बढेको छ। ११ अप्रिल (सोमबार) सम्ममा ११ लाख ८ हजार संक्रमित छन् र यो संख्या निरन्तर बढिरहेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले औषधि निर्माता कम्पनीलाई आफ्नो वेबसाइटमा उक्त औषधिको मौजुदा भण्डारण तथा वितरणको जानकारी सार्वजनिक गर्न निर्देशन दिएको छ। साथै, नियमनकारी निकायलाई उक्त औषधिको भण्डारणको जाँच गर्न तथा कालोबजारी हुन नदिन कारबाही प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय भारतमा एक्कासी कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेको छ। अमेरिकाको गिलिएड साइन्सेजसँगको सम्झौताअनुसार भारतमा सात वटा कम्पनीले रेमडेसिभिर औषधि उत्पादन गर्दै आएका छन्। गत वर्ष पनि भारतले यही समयमा रेमडेसिभिरको निर्यातमा रोक लगाएको थियो। नेपालमा मुख्यगरी भारतबाटै रेमडेसिभिर आयात हुँदै आएको छ । भारतले नै निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको मूल्य आकासिन पुगेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्