बाइसे-चौबिसे राज्य : डोटी जिल्लाको परिचय

Doti_Distric
लोकपाटी न्यूज
0 Shares

डोटी जिल्ला सुदूरपश्चिम प्रदेशको मध्य पहाडी क्षेत्रमा पर्दछ। ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पौराणिक किम्वदन्तीहरुले धनी जिल्ला मानिने यस जिल्लाको सदरमुकाम सिलगढीमा रहेको छ। साविकमा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल डोटी जिल्लामा नै पर्छ। भौगोलिक हिसाबले पहाडी भूभागले ढाकेको यस जिल्लामा मिश्रित जातिले बसोबास गरेको पाइन्छ।

डोटी जिल्लाको नामांकन र यसको इतिहासका बारेमा विभिन्न विभिन्न किबदन्तीहरु रहेका पाइन्छन्। ज्ञानेश्वर भटृराईको वृहत् ज्ञान कोषको अनुसार यहाँ प्रवाहित हुने खोलाको नाम डोटी खोला रहेको र सोही डोटी खोलाको छेउछाउको भागलाई डोटी क्षेत्र भन्ने गरिएकोले सोही आधारमा जिल्लाको नाम डोटी रहन गएको हो।

ऐतिहासिक पृष्ठभूमि

बाइसे-चौबीसे राज्यकालमा विशाल तथा शक्तिशाली मानिएको डोटी राज्य पूर्वमा कर्णाली नदी, पश्चिममा कुमाउ, उत्तरमा ठाकुरजीदेखि दक्षिणमा तराईसम्म फैलिएको थियो। डोटीका राजालाई महाराजाधिराजको उपाधिको स्थानीय नाउ रैकाज्यू भनिन्थ्यो। डोटीका शासक कत्युरवंशी राजा सुभिक्षराज (सन् १०४५-१०६५) डोटीका अतिरिक्त अल्मोडा र गढवालका समेत शासक थिए।

यहाँका राजा दीप शाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी वि.सं. १८४७ सालमा विशाल नेपाल राष्ट्र अन्तर्गत विजय गरेको थियो। राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा, बझाङ, जुम्ला र बैतडी थिए। यस जिल्लाको कूल क्षेत्रफल २०२५ वर्ग कि.मि. रहेको छ।

डोटी राज्य

अजैमरकोट

डोटी राज्य बाइसे राज्य थियो। डोटी राज्य मध्यकालमा बाइसे राज्यहरूमा सबैभन्दा शक्तिशाली राज्य थियो। डोटी राज्यको दरबार अर्थात् मूलगढ महाकाली अञ्चल अन्तर्गत डडेलधुरा जिल्ला स्थित अजयमेरुमा थियो। जसलाई अद्यावधि अजैमर कोट भनिन्छ। पहिला यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुँदै आएको थियो। डोटेली राजा भूपति शाहीको शासनकालमा अजयमेरुबाट दिपायलको बायाँतिर रहेको गनैर गौडा नामक डाँडामा राजदरबार अर्थात् कोट निर्माण गरेर त्यहाँबाट डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन थाल्यो। जसलाई अद्यावधि दिपायलकोट भनिन्छ।

तत्कालीन डोटेली राजाको दरबारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नाबशेषका रूपमा रहेका छन्। डोटी राजाको मूल दरबार अजैमेरकोट हिउँदको समयमा ज्यादै चिसो भएबाट सित्कालीन दरबारको रूपमा दिपायलमा कोट निर्माण गरेर यहाँबाट डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन गएको हो भन्ने जनश्रुति पाइन्छ। तर सन् १४३८ देखि ५० सम्म डोटी र कुमाउँको युद्ध पछि त्रासित तत्कालीन राजा कल्याण मल्लले दिपायलकोटमा राजधानी सारेका थिए।

गोर्खालीहरूको आक्रमण

डोटी जिल्लाको नक्शा

शाके संवत् १९७० तदअनुसार वि.सं १८४७ मा अमरसिंह थापाको नेतृत्वमा आएका गोर्खाली फौजद्वारा तत्कालीन डोटेली राजा दीप शाही परास्त भएपछि मात्र शक्तिशाली डोटी राज्य बृहत् नेपालको एक अंग बन्न पुग्यो। नेपाल एकीकरणको क्रममा पश्चिम तर्फको विशाल जुम्ला राज्य टुक्रिएर खडा भएका बाइसे राज्यहरूमा प्राय: धेरैले गोर्खालीहरूको आश्रित राज्यको रूपमा रहन स्वीकारे। फलतः ती राज्यहरूलाई नेपालको(गोर्खाली) एक अधीनस्थ राज्यको रूपमा अर्थात् रजौटाको रूपमा मान्यता दिइयो। जस अन्तर्गत दुल्लुका उत्तिम शाही दर्नाका रुद्र शाही र बाजुराका दुगुर सिंह आदि पर्दछन्। तर डोटेली रैका राजा दीप शाहीले गोर्खालीहरूको अधीनस्थ स्वीकार गर्न चाहेन। तसर्थ गोर्खालीहरूले वाह्य कुमाउँ राज्यसँग मित्रता कायम गरी डोटी राज्य माथि विजय प्राप्त गर्न सकेका थिए।

डोटी जिल्लाको भौगोलिक अवस्था

नेपाल अधिराज्यको सुदुरपश्चिम प्रदेशमा अन्तर्गत रहेको डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ र दक्षिणमा कैलाली र कञ्चनपुर जिल्लाहरू रहेका छन्। २०२५ वर्ग किमीमा फैलिएको यो जिल्ला २८० ५४’ उत्तर देखि २९० ५४’ उत्तर अक्षांश र ८०० ३०’ पूर्वदेखि २१० १४’ पूर्वी देशान्तरसम्म फैलिएको छ। भौगोलिक दृष्टिले अत्यधिक विविधता भएको यो जिल्ला उँचाइको दृष्टिले ३०० मिटर (घाङल गा वि स को पिपलकुण्टा) देखि ४००० मिटरसम्म फैलिएको भए तापनि यसको अधिकांश भू-भाग भने ३०० मिटर देखि २००० मिटरको उचाइ क्षेत्रमा पर्दछ। अर्थात् उत्तरमा उच्च हिमाली क्षेत्र देखि दक्षिणमा चुरे पर्वत श्रृंखलासम्म फैलिएको यो जिल्लाको अधिकांश भू-भाग भने मध्य पहाडी क्षेत्रमा नै पर्दछन्। यस जिल्लामा खप्तड लेक,सकार लेक,महाभारत लेक तथा गोलेदेउ लेक जस्ता उच्च पहाडी स्थानका साथै दिपायल,वानेडुग्रीसैन तथा नारीदाङ्ग जस्ता अर्ध उष्ण हावापानी भएका नदी किनारामा अवस्थित समथल भू-भाग पनि रहेका छन्।

हावापानी

डोटी जिल्ला समुद्र सतहबाट ६०० मिटरदेखि ३४३० मिटरको उचाइमा रहेको छ। डोटीको भू-बनोट असमान उचाइ र विविध धरातलीय स्वरूप भएको कारण हावापानीमा निकै विषमता छ। भू-वनोटीय उचाइमा भएको विविधताको कारण यहाँको हावापानी तथा जलवायुमा पनि विविधता पाइन्छ। यहाँ खास गरी समशीतोष्ण देखि शीतोष्ण हावापानी पाइन्छ।

यस जिल्लाका सेती नदी किनारमा अवस्थित दिपायल, गोपघाट, नारीदाड. आदि क्षेत्र तथा जोरायल, सानागाउ आदि क्षेत्रमा गर्मीयाममा प्रचण्ड गर्मी भई उष्ण हावापानीको अनुभव हुन्छ भने खप्तड, वगलेक, तोलेनी, लानाकेदारेश्वर, डौड आदि क्षेत्रमा हिउँदयाममा हिउँ समेत पर्ने र गर्मीयाममा पनि शीतल नै हुने हुनाले शीत प्रदेशको पनि प्रतिनिधित्व भएको पाइन्छ।

यस जिल्लाको ६० % भू-भाग समशीतोष्ण, १७% भू-भाग अर्धोष्ण र २३% भू-भाग शीत प्रदेशमा पर्दछ, यहाँको अधिकतम तापक्रम ४४ डी.से.(दिपायल) देखि न्यूनतम तापक्रम-२० डी.से. (खप्तड क्षेत्र) रहेको पाइन्छ। दिपायल स्टेसनको रेकर्ड अनुसार यस जिल्लामा हुने औसत वार्षिक वर्षा १३४७ मि.मि. रहेको छ र लगभग ७० प्रतिशत वर्षा गृष्मकालीन मनसुनको कारण जून र सेप्टेम्बर महिनामा हुने गर्छ। यस जिल्लामा अधिकतम औसत वर्षा जून महिनामा १२.९ मि.मि र न्यून वर्षा मार्च महिनामा भएको पाइन्छ।

हावापानी र भौगोलिक विविधताको प्रभाव यस जिल्लाको जैविक विविधता, सामाजिक परिवेश र रहनसहनमा पनि स्पष्ट देख्न सकिन्छ। जिल्लाको भौगोलिक अवस्थिति अक्षांश- २८.५२ डिग्री उत्तर देखि २९.२८ डिग्री उत्तर सम्म देशान्तर- ८०.३० पूर्व देखि ८१.१४ डिग्री पूर्वसम्म १.४ र यस जिल्लाको सीमाना पूर्वमा सुर्खेत र अछाम, उत्तरमा बझाङ र बाजुरा, पश्चिममा डडेल्धुरा र बैतडी र दक्षिणमा कैलाली जिल्लासम्म फैलिएको छ।

जिल्लाको पूर्वी सिमानामा रहेका जिल्ला प्रवेश गर्ने राजमार्ग के.आई सिंह राजमार्ग हो। यो राजमार्ग हुँदै अछाम जिल्लाको चौरपाटी गाउँपालिकाको चौखुट्टे बजार भएर पूर्वी सीमानामा रहेको जिल्ला अछाम र उत्तर पूर्वी सीमानामा रहेको जिल्ला बाजुरा प्रवेश गरिन्छ। उत्तर सीमानामा रहेको जिल्ला बझाङ र पश्चिममा रहेको बैतडी जिल्ला प्रवेश गर्न डडेल्धुरा हुँदै जानु पर्ने हुन्छ भने दक्षिणी सीमानामा रहेको जिल्ला कैलाली जानुपर्दा डडेल्धुरा हुँदै सहजपुर भएर जानु पर्ने हुन्छ।

राजनीतिक विभाजन

वि.सं. २०३७ साल असोज २६ गते सेती र महाकाली दुई अञ्चलका नौ जिल्ला (बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला) लाई सुदूर पश्चिमाञ्चल विकास क्षेत्र थप गरी ५ विकास क्षेत्रमा विभाजन भयो। सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम यसै जिल्लाको दिपायललाई तोकियो। यो क्षेत्र क्षेत्रीय मुकामका रूपमा परिचित भयो।

नेपालको संविधान २०७२ जारी भए पछि प्रदेश नं. ७ मा रहेको डोटी जिल्ला हाल सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्दछ। यस जिल्लामा निर्वाचन क्षेत्र प्रतिनिधिसभा-१, प्रदेश सभा-२, गाउँपालिका-७, नगरपालिका सङ्ख्या २ रहेका छन्।

सन्दर्भ स्रोत : विकिपीडिया र डोटीका सरकारी कार्यालयहरु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्