राष्ट्रिय सहमतिको सरकार मुलुकको आवश्यकता हो : प्रदीप गिरी

Pradeep_Giri
  • 35
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले राजनीतिक अन्योल समाधानका लागि सहमतिको सरकार बनाउनु पर्ने बताएका छन्। संसद्को विशेष समयमा नेता गिरीले मुलुकमा अहिले देखिएको राजनीतिक अन्योललाई चिर्न सहमतिको सरकार निर्माण गर्नुपर्ने सुझाव दिएका हुन्।

‘आज म सबैभन्दा पहिले यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्न चाहन्छु। को प्रधानमन्त्री बन्ने भन्ने कुरामा मानौं प्रधानमन्त्री सडकमा फ्याकिएको छ। शेरबहादुर देउवा, महन्थ ठाकुर, पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त चिरञ्जीवि भइहाल्ने कुरा आएको छ। प्रश्न सरकारको होइन, सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन,’ उनले भने।

साथै निर्वाचन पनि सबै दलको सहमतिमा सहमतिको सरकारले गर्नुपर्ने उनको तर्क थियो। तर निर्वाचन सहमतिका आधारमा नभए २०४७ सालपछिको अवस्था जस्तै हुने उनले बताएका थिए। यो संविधानलाई बचाएर यसैमा टेकेर अगाडि बढ्नुपर्ने उनले बताए। ‘यो संविधानलाई बचाएर अगाडि बढ्ने हो कि २०४७ सालको संविधानजस्तै विजोग गर्ने हो ?,’ उनले प्रश्न गरे, ‘अथवा चुच्चे नक्साजस्तै विजोगमा लैजाने हो।’

उनले चुनावमा जाने भए सबै मिलेर जानुपर्ने बताए। तर चुनावमा जाँदा सहमतिमा जानुपर्ने उनको भनाइ छ। सानो समूहले २०४७ सालको संविधान नमानेर आजको अवस्था आइपरेको उनले बताए। उनले प्रधानमन्त्रीका कारण संकट आइपरेको बताएका छन्। ‘दिनप्रतिदिनको विवाद र भ्रष्टाचारको कथा जुहारीबाट हुँदैन। जनताका दु:ख र महँगीका दु:ख छन्,’ उनले भने, ‘यसका लागि हामी संसदमा जम्मा भएको होइन। म जम्मा भएको होइन। किन हामी यहाँ आइपुग्यौं?’

प्रधानमन्त्री केपी ओलीले काम नगरेर गफ दिएरै जनतालाई अल्मल्याउन लागेको आरोप लगाए। नगर्नु पर्ने काम गर्नमा प्रधानमन्त्रीले ध्यान दिएको भन्दै गिरीले प्रधानमन्त्रीको आलोचना गरेका थिए। उनले संकटका बेला राष्ट्रिय सहमति गर्नुपर्ने बताए। उनले राष्ट्रिय सहमतिको सरकार बनाएर जान सकिने पनि बताए। ‘संसदलाई पूरा कार्यकाल चल्न दिऔं,’ उनले भने।